मोहम्मद सालाह

सलाह आफ्नो पोजिशनका उत्कृष्ट खेलाडीः एन्सेलोट्टी

मड्रिड । स्पेनिस क्लब रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले इङ्लिस क्लब लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह आफ्नो पोजिशनको उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

एन्सेलोट्टीको रियालले युरोपियन च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलको सामना गर्दैछ । मे २८ मा हुने खेल फ्रान्सको राजधानी पेरिसमा हुनेछ ।

यस सिजन उत्कृष्ट लयमा रहेका सलाहले इङ्लिस प्रिमियर लिगमा २२ गोल गरेका छन् । यस्तै, लिगका ३४ खेल खेल्दा सलाहको ३५ गोलमा योगदान छ ।

यसअघि सलाहले पनि आफू आफ्नो पोजिशनको उत्कृष्ट खेलाडी भएको बताएका थिए । सलाहको कुरामा समर्थन जनाउँदै एन्सेलोट्टीले सलाह उत्कृष्ट स्ट्राइकर भएको बताएका हुन् ।

‘सलाहले आफू आफ्नो पोजिशनको उत्कृष्ट खेलाडी भएको बताएका थिए र मलाई लाग्छ उनी सही छन्,’ एन्सेलोट्टीले भने, ‘म सलाहको कुरामा सहमत छु । उनी विश्वको एक उत्कृष्ट खेलाडी हुन् ।’