अस्ट्रेलिया

कार दुर्घटनामा साइमन्डसको निधन

सिड्नी । अस्ट्रेलियाका पूर्व क्रिकटर एन्ड्रियु साइमन्डसको कार दुर्घटनामा परि ४६ वर्षको उमेरमा निधन भएको छ ।

अलराउन्डर साइमन्डसले सन् १९९८ देखी २००९ सम्म अस्ट्रेलियाबाट २६ टेस्ट, एक सय ९८ एक दिवसीय र १४ ट्वान्टी२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । 

अस्ट्रेलियाले दुई पटक एक दिवसीय विश्वकप र सन् २००६-७ मा इङल्यान्डविरुद्धको एसेस शृंखला जित्दा उनी  टोलीका प्रमुख सदस्य थिए ।

यसै वर्ष अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्न र विकेटकिपर रड मार्सको पनि निधन भएको थियो । 

साइमन्डसले एक दिवसीयतर्फ एक सय ९८ खेलमा ३९.७५ को औसतमा पाँच हजार ८८ रन प्रहार गर्नुका साथै एक सय ३३ विकेट लिएका थिए ।

तर उनको खेलजीवन विवादरहित भने रहेन ।  अनुशासन उल्लंघन गरेको भन्दै उनलाई सन् २००९ को विश्वकपमा  इङल्यान्डबाट अस्ट्रेलिया फिर्ता पठाइएको थियो ।