बार्सिलोना

अराउजो तत्काल बार्सिलोनाको खेलमा फर्किन सक्ने

बार्सिलोना । स्पेनिस ला लिगाअन्तर्गत आइतवार गेटाफेविरुद्ध खेल्दा बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोले ‘शक कमब्याक’ गर्न सक्ने देखिएको छ ।

मंगलबार टाउकोको चोट लागेपछि अराउजो लामो समय मैदानबाट बाहिर रहने अनुमान थियो । यसैकारण मैदानबाट तत्काल अस्पताल पुर्याइएको अराउजोले एक रात अस्पतालमै बिताएका थिए ।

उरुग्वेका २३ वर्षीय रक्षक सेल्टा भिगोसँगको खेलमा आफ्नै टोलीका सहकर्मी गाभीसँग ठोक्किँदा घाइते भएका थिए । ठोक्किँदा दुवै खेलाडीलाई मैदानमा मेडिकल स्टाफको सहयोग चाहिएको थियो । करिव १० मिनेटको उपचारपछि अराउजोलाई एम्बुलेन्समा अस्पताल पुर्याइएको थियो । यद्यपि, उक्त खेलमा बार्सिलोनाले ३–१ ले जितेको थियो ।

‘अराउजो खेल्न चाहन्छन्,’ शनिबार मुख्य प्रशिक्षक जाभीले भने, ‘हाम्रो लागि यो ठूलो कुरा हो । उनी खेल्न चाहन्छन् । अराउजो हामीसँगै रहन चाहन्छन् ।’