एभर्टन लिग कपको तेस्रो चरणमा

लन्डन (खेलाडी)- एन्ड्रोस टाउनसेन्डले क्लबका लागि गोल खाता खोलेको दिन एभर्टनले मंगलबार इङ्लिस लिग कपमा हडर्सफिल्डमाथि २-१ को जित हासिल गर्दै तेस्रो चरणमा स्थान पक्का गरेको छ ।

टाउनसेन्ड यसै सिजनमात्र क्लबमा अनुबन्ध भएका थिए । २६औं मिन्टमा एलेक्स इओबीले गरेको गोलमा एभर्टनले अग्रता लिएको थियो । तर पहिलो हाफको अन्तिम मिनेटमा टम लिसले हडर्सफिल्डलाई खेलमा फर्काए । 

६९औं मिनेटमा मोसिस केन रातो कार्ड सामना गर्दै मैदानबाट बाहिरिएपछि एभर्टनले १० खेलाडीमा सिमित हुदै खेलको अन्त्य गरेको थियो । खेल सकिन ११ मिनेट बाँकी रहँदा टाउनसेन्डले बललाई जाली चुमाउदै एभर्टनको तेस्रो चरणको टिकट पक्का गरेका थिए ।

प्रिमियर लिगमा शनिबार लिड्ससँग २-२ को बराबरी खेलेको टोलीमा एभर्टनका प्रशिक्षक राफेल बेनिटेजले ९ खेलाडी परिवर्तन गरेका थिए ।

‘हामी अझै संघर्षरत छौं,’ बेनिटेजले भने, ‘आजको जितले टोलीलाई केही राहत मिलेको छ । हामीले अवसरको सिर्जना गर्दै खेल नियन्त्रणमा राख्यौं ।’