नेपाली फुटबल

विष्टले लिग कमिटि र क्लब समन्वयन कमिटिबाट दिए राजीनामा

तस्विर सौजन्यः विदुर विष्ट/फेसबुक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीबीचको विवाद समाधानका लागि गठित छानबिन समितीका सदस्य विदुर विष्टले लिग कमिटि र क्लब समन्वय कमिटिबाट राजीनामा दिएका छन् ।

पूर्व फुटबलर विष्टले अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकविच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानविन प्रभावित हुन सक्ने कारण आफूले राजीनमा दिएको जानकारी गराए ।

एन्फाको आइतबार बसेको आपतकालिन केन्द्रीय कमिटी बैठकले भिक्टर राना, विदुर विष्ट र दिपक थापा रहने गरी तीन सदस्यीय छानबिन समिती गठन गरेको थियो । सो समितीलाई प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको छ ।

छानविन समितिको बैठक भने आज (मंगलबार) पहिलो पटक बस्दै छ । छानविन समितिका एक सदस्यले बताएअनुसार भोलि (बुधबार) देखि यो घटनासँग सम्बन्धित सबैको बयान लिने तयारी छ । यसको सुरुआत भोलि खेलाडीसँगको बयानबाट सुरु हुनेछ ।