प्रशिक्षक-खेलाडी विवाद

राष्ट्रिय टिम विवादमा एन्फाको पक्षधरता प्रशिक्षकतिर

काठमाडौं । राष्ट्रिय फुटबल टिमका एक दर्जनभन्दा धेरै खेलाडी बन्द प्रशिक्षणबाट निकालिएको दुई साता बितिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आधारभूत आवश्यकताको विषयमा छलफल गर्न जाँदा बन्द प्रशिक्षण नै छाड्न भनेपछि बाहिरिएको बताउदै खेलाडीहरू त्यसको भोलि पल्टदेखि नै ‘न्याय’ माग्दै भौतारिइरहेका छन् ।

नेपाली राष्ट्रिय टिम अर्को महिना कुवेतमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीमा छ । त्यसका लागि बन्द प्रशिक्षणमा रहेका प्रमुख खेलाडीहरू अहिले अभ्यासमा छैनन् । घरेलु मैदानमै प्रारम्भिक चरणका अभ्यासपछि थप तयारीका लागि नेपाली टिम शुक्रबार कतार जाने तयारीमा छ ।

तर, टिमका प्रमुख खेलाडी बाहिरै छन् । र, एसियन कप छनोटको मिति नजिकै आइसक्दा नेपाली टिम कुन कुन खेलाडी लिएर कतार जान्छ भन्ने निश्चित छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आइतबार बसेको बैठकले पूर्व खेलाडी भिक्टोर राणाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । र, छानविनको प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको छ । जसअनुसार तीन सदस्यीय छानविन समितिले प्रतिवेदन बुझाउँदा राष्ट्रिय टिम कतार गइसक्ने तयारी छ ।

यद्यपि, एन्फा महासचिव इन्द्रमान तुलाधर भने को खेलाडी जाने/नजाने देखि लिएर कहिले जाने भन्ने विषयमा समेत केही तय नभएको बताउँछन् ।

‘केही टुङ्गो छैन, जाने कि नजाने, कहिले जाने भन्ने पनि टुङ्गो लागेको छैन,’ खेलाडीसँग महासचिव तुलाधरले भने, ‘अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेल हुने–नहुने केही निश्चित छैन । नेपाली टिम जाने कि नजाने पनि निश्चित छैन ।’

एन्फाले भने बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिरै राख्ने लक्षण देखाएको छ । किनभने, विवादका दुई पक्ष– खेलाडी र प्रशिक्षक हुँदा हुँदै पनि प्रशिक्षकलाई निरन्तरता दिएर खेलाडीलाई बाहिर नै छाडेको छ । छानविन समिति गठन भइसकेपछि खेलाडीलाई प्रतिवेदन नआउन्जेल बाहिरै राख्ने हो भने प्रशिक्षकलाई पनि निलम्बन गरिनु पर्ने सरोकारवालाहरु बताउँछन् ।

राष्ट्रिय टोलीका पूर्व उपकप्तान राजेश शाहीले ‘खेलाडीको विकल्प खेलाडी हुन सक्छन् भने प्रशिक्षकको विकल्प पनि प्रशिक्षक हुन सक्छन्’ भन्दै प्रशिक्षक अल्मुताइरीलाई निलम्बन गर्नुपर्ने बताइसकेका छन् । यसैगरी अन्य पूर्व खेलाडीहरुले पनि निश्कर्ष ननिस्किएसम्म दुवै पक्षलाई निलम्बनमा राखेमा मात्र सही अर्थमा छानविन हुने विचार राखेका छन् ।

तर, बन्द प्रशिक्षणबाट निकालिएका खेलाडी बाहिरै छाडेर मुख्य प्रशिक्षकलाई भने निरन्तरता दिनुले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा नेतृत्वको पक्षधरता स्पष्ट पार्छ ।

छानविन समितिको बैठक भने आज (मंगलबार) पहिलो पटक बस्दै छ । छानविन समितिका एक सदस्यले बताएअनुसार भोलि (बुधबार) देखि यो घटनासँग सम्बन्धित सबैको बयान लिने तयारी छ । यसको सुरुआत भोलि खेलाडीसँगको बयानबाट सुरु हुनेछ ।