प्रशिक्षक-खेलाडी विवाद

खेलाडी–प्रशिक्षक विवाद छानविनका लागि तीन सदस्यीय समिति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडी र प्रशिक्षक विवादको छानविनका लागि तीन सदस्यीय समिति बनाएको छ ।

एन्फाको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पूर्व राष्ट्रिय खेलाडी तथा नेपाल आर्मीका पूर्व मेजर जनरल भिक्टर राणको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको हो ।

समितिमा राणासँगै पूर्व राष्ट्रिय खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का उपाध्यक्ष दीपक थापा छन् । 

एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै रोहित चन्दसँगै, विमल घर्तिमगर, सुजल श्रेष्ठ, अन्जन बिष्ट लगायतका खेलाडीहरूले प्रशिक्षण छोडेका थिए । तर, प्रशिक्षक तथा व्यवस्थापकहरूले सूचना नदिई ‘खेलाडी भागेको’ प्रतिक्रिया दिइरहेका छन् ।

यसबारे खेलाडी तथा प्रशिक्षक अल्मुताइरी दुवैले एन्फालाई विवादबारे पत्र पठाएका थिए । खेलाडीले घटनाको जानकारी गराउँदै स्पष्ट छानविनको माग राखेका थिए भने प्रशिक्षकले खेलाडीहरूलाई माफी दिएको बताएका थिए ।

यद्यपि, प्रशिक्षकले माफी दिए पनि खेलाडीहरूलाई आसन्न एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि भने टिममा समावेश नगराउने बताइसकेका छन् ।

यसको स्पष्ट छानविनका लागि एन्फाले बुधबार छानविन समिति गठन गरेको भन्दै समाचार प्रकाशन गरे पनि पछि आधिकारीक वेबसाइटबाट डिलिट गरेको थियो । यसबारे खेलाडीलाई जानकारी दिँदै एन्फा महासचिव इन्द्रमान तुलाधरले समिति गठन गरे पनि प्रकृया नपुगेका कारण त्यसलाई हटाइएको बताएका थिए ।