एन्फा निर्वाचन

एन्फा निर्वाचन: गण्डकीमा शेर्पा पक्ष बलियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को असारमा हुने केन्द्रीय कार्यसमिति निर्वाचनका लागि गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जिल्ला फुटबल संघको चयन भएको छ ।

शुक्रबार तनहुँको आबुखैरेनीमा प्रदेशका आठै जिल्ला फुटबल संघका प्रतिनिधिको भेलाले असार ६ गते हुने तय भएको केन्द्रीय निर्वाचन साधारणसभाका लागि प्रतिनिधि चयन गर्दा कास्की र गोरखा मताधिकारबाट बञ्चित भएका छन् ।

केन्द्रीय अध्यक्ष पदमा दोस्रो कार्यकाल पनि निरन्तरता दिने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षको बाहुल्य रहेको गण्डकीमा अपेक्षाअनुसार नै तनहुँ, बाग्लुङ, स्याङ्जा, नवलपुर, मनाङ र लमजुङले मताधिकार प्राप्त गरे ।

निर्वाचनबाट प्रतिनिधि चयन गरिँदा तनहुँ र बाग्लुङले सर्वाधिक आठ मत हासिल गरे भने स्याङजाले सात तथा नवलपुर, मनाङ र लमजुङको पक्षमा समान ६ मत परेको थियो । दुई मतमा सीमित भएका कास्की र गोरखाले मताधिकार पाएनन् ।

केन्द्रीय अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले शेर्पालाई चुनौती दिने पक्का भएको छ ।