प्रशिक्षक-खेलाडी विवाद

खेलाडी–प्रशिक्षण विवादः एन्फा कार्यसमितिको बैठक बस्दै

काठमाडौं । खेलाडी–प्रशिक्षक विवाद सम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमितिको बैठक बोलाएको छ ।

बिहीबार एन्फाले सचिवालयनले कार्यसमिति सदस्यहरुलाई पत्रचार गर्दै वैशाख २५ गते दिउँसो ०२ः०० बजे बैठक उपस्थित हुन आग्रह गरेको छ ।

पत्रमा राष्ट्रिय पुरुष टिमको सम्बन्धमा छलफल गर्न आवश्यक रहेको हुँदा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा कार्यसमितिको बैठक बस्न लागिएको उल्लेख छ ।

कार्यसमितिको बैठक एन्फा सचिवालय सातदोबाटोमा बस्ने उल्लेख छ ।

एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै रोहित चन्दसँगै, विमल घर्तिमगर, सुजल श्रेष्ठ, अन्जन बिष्ट लगायतका खेलाडीहरुले प्रशिक्षण छोडेका बताएका थिए । तर, प्रशिक्षक तथा व्यवस्थापकहरूले सूचना नदिई ‘खेलाडी भागेको’ प्रतिक्रिया दिइरहेका छन् ।

यसबारे खेलाडी तथा प्रशिक्षक अल्मुताइरी दुवैले एन्फालाई विवादबारे पत्र पठाएका थिए । खेलाडीले घटनाको जानकारी गराउँदै स्पष्ट छानविनको माग राखेका थिए भने प्रशिक्षकले खेलाडीहरूलाई माफी दिएको बताएका थिए ।

यद्यपि, प्रशिक्षकले माफी दिए पनि खेलाडीहरूलाई आसन्न एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि भने टिममा समावेश नगराउने बताएका थिए ।

यसको सत्यतथ्य छानविनका लागि एन्फाले बुधबार छानविन समिति गठन गरेको भन्दै समाचार प्रकाशन गरे पनि पछि आधिकारीक वेबसाइटबाट डिलिट गरेको थियो । यसबारे खेलाडीलाई जानकारी दिँदै एन्फा महासचिव इन्द्रमान तुलाधरले समिति गठन गरे पनि प्रकृया नपुगेका कारण त्यसलाई हटाइएको बताएका थिए ।