सुर्खेत जिल्ला फुटबल संघ

जिल्ला फुटबल संघ सुर्खेतको अध्यक्षमा चन्द निर्विरोध

काठमाडौं । जिल्ला फुटबल संघ सुर्खेतको अध्यक्षमा रविन चन्द निर्विरोध निर्वाचित भएका छन् । पूर्व निर्धारित समयमा विवादका कारण चुनाव नभएकाले एन्फा मुख्यालयमै बिहीबार चुनाव भएको थियो ।

केही बेरअघि सम्पन्न चुनावी साधारण सभाले सुर्खेतको नयाँ १५ सदस्यीय कार्यसमिति चुनेको हो । अध्यक्षमा रविनसँगै उपाध्यक्षमा चन्द्र कुमार श्रेष्ठ, ललित जङ शाही र दर्शन थापा निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा ममता राई, मान सिं गुरुङ, मदन रिमाल, दल बहादुर केसी, गोवद्र्धन खड्का, देविशरण गुरुङ, प्रकाश राना क्षेत्री, इन्द्रलाल चौधरी, खगेन्द्र बहादुर विष्ट, भुपेन्द्र शाही र कृष्ण रावल पनि निर्विरोध निर्वाचित भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय निर्वाचन असार ६ गते हुने घोषणा भइसकेको छ । त्यसका लागि एन्फाले ४८ वटै जिल्ला फुटबल संघलाई वैशाख १० गतेसम्म चुनाव गरिसक्न निर्देशन दिएको थियो 

तर, शिरोमर क्लबबाट मनोनित भएर आएका चन्दको चुनावमा सहभागितालाई लिएर अन्योल सिर्जना भएको थियो । जसका कारण पूर्व निर्धारित समयमा चुनाव हुन सकेको थिएन । सहिद स्मारक सी डिभिजन लिग खेलिरहेको आरसी ३२ क्लबका अध्यक्ष रहेका चन्दले एन्फाका दुई सदस्य संस्थाबाट आउन नपाउने भन्दै सचिवालयले पत्र काटेको थियो ।

तर, जिल्ला निर्वाचन तथा विवाद समाधान समितिले आरसी ३२ बाट राजीनामा दिइसकेकाले उनले सहभागी हुन पाउने बताएको थियो । सोही अनुसार एन्फा सचिवालयले वैशाख १९ गते पत्र काट्दै एन्फामा आज निर्वाचन हुने बताएको थियो ।

एन्फाको केन्द्रीय निर्वाचनमा ४८ मध्ये ४५ जिल्लाले मताधिकार प्राप्त गर्नेछन् । गण्डकी प्रदेशका ८ मध्ये ६ जिल्ला र प्रदेश १ का ११ मध्ये १० जिल्लाले मताधिकार प्राप्त गर्नेछन् । यस्तै, ए डिभिजन लिगका १४ क्लब, बी डिभिजन लिगका १४ मध्ये ११ क्बल र सी डिभिजन लिगका ९ क्बलले मताधिकार पाउँछन् ।

यस्तै, राष्ट्रिय लिगका लागि छनोट भएर खेल्न नपाइरहेका चार क्लब, रेफ्री संघ, खेलाडीसँग, प्रशिक्षक संघ र महिला संघले पनि मताधिकार पाउँछन् ।