एन्फा चुनाव

सिन्धुली जिल्ला फुटबल संघको चुनाव एन्फा मुख्यालयमा हुने

काठमाडौं । जिल्ला फुटबल संघ सिन्धुलीको चुनाव स्थानीय विवादका कारण तोकिएको समयमा हुन नसकेपछि वैशाख २२ गते अखिल नेपाल फुटबल संघ (एन्फा)मा हुने भएको छ ।

यसअघि एन्फाले १० गतेसम्म सम्पूर्ण जिल्ला निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, उक्त समय सीमामा चुनाव हुन नसकेपछि चुनाव १८ गतेका लागि सरेको थियो । त्यो समयमा पनि चुनाव हुन नसकेपछि एन्फाले सोमबार पत्र काट्दै २२ गते एन्फा मुख्यालयमै चुनाव गर्न निर्देशन दिएको हो ।

महासविच इन्द्रमान तुलाधरद्वारा जारी पत्रमा भनिएको छ, ‘२२ गते एन्फाको केन्द्रीय कार्यायल सातदोबाटोमा बिहान १० बजे निर्वाचन गर्ने निर्णय गरेको हुँदा सो प्रयोजनका लागि जिल्ला संघका पदाधिकारीहरू, मताधिकार प्रतिनिधिहरू र उम्मेदवार हुन इच्छुक योग्य व्यक्तिहरूलाई आवश्यक कागजातसहित एन्फ मुख्यालयमा उपस्थित गराइदिनु हुन अनुरोध गर्दछौं ।’

निर्वाचनमा सहभागी हुन आउने–जाने क्रममा लाग्ने सम्पूर्ण खर्च सहभागी स्वयमले व्यहोर्नु पर्नेसमेत पत्रमा उल्लेख छ ।