खेलाडी-प्रशिक्षक मतभेद

राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने कुथुको घोषणा

काठमाडौं । सिनियर १० खेलाडीसँग मतभेद सुरु भएपछि डाकिएका १७ खेलाडीमध्ये गोलकिपर विकेश कुथुले राष्ट्रिय फुटबल टोलीमा सहभागी नहुने घोषणा गरेका छन् ।

विकेशले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू पिडित खेलाडीहरुको पक्षमा रहेको बताउँदै राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने जनाएका हुन् ।

‘हाल राष्ट्रिय टोलिमा भएको घटनाक्रम मलाई पूर्ण रुपमा अवगत भएको र खेलाडी साथीहरुमा पर्न गएको मर्का मैले बुझेको छु । साथै विगतमा म पूर्ण रुपमा फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टिमबाट अलग गरिएको घटना यथावत नै छ । तसर्थ म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथिहरुको जायज माग प्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु । म र हामीभन्दा माथि हाम्रो राष्ट्र,’ विकेशले सामाजिक सञ्जालमा लेखेका छन् ।