अब्दुल्लाह अल्मुताइरी

हिजो बेलुका नै छाडेका थिए ९ खेलाडीले होटल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ९ खेलाडीले मंगलबार राति एकाएक होटल छोडेका टिम म्यानेजर मधुसुदन उपाध्यायले बताएका छन् । उनका अनुसार मंगलबारको ट्रेनिङपछि टिम मिटिङसम्म खेलाडीहरू होटलमै थिए ।

एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि अहिले राष्ट्रिय टिम त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको एक होटलमा राखिरहेको छ ।

‘बेलुकाको टिम मिटिङ भएको थियो, बेलुका आठ बजे खेलाडीहरू होटलमै थिए र म छुटेको थिएँ,’ उपाध्यायले भने, ‘साढे ९ बजे होटल छाडेर ९ जना केटाहरू निस्किए भनेर फोन आयो । मलाई कृष्णभक्त दाईले फोन गर्नुभएको थियो ।’

म्यानेजर उपाध्यायले आफूले बेलुकादेखि नै खेलाडीसँग सम्पर्क गर्ने प्रयास निरन्तर गरिरहे पनि फोन नउठिरहेको बताए ।

‘मेरो फोन हिजो बेलुका, बिहान र आज पनि उठाएको छैन, कोचले के–के भन्यो रे... त्यो मलाई थाहा हुनुपर्यो नि, क्याम्प नै छाडेर जानु हुन्थेन नि । वहाँहरूसँग मेरो भेट नै भएन । कुरा नै हुन पाएन ।’

आजको ट्रेनिङमा रोहित चन्दसहित १० जना अनुपस्थित रहेको उनले बताए । यद्यपि, रोहित चोटका कारण केही दिनदेखि अनुपस्थित रहेको बताए ।

‘रोहिच चोटका कारण केही दिनदेखि आएको थिएन, विशाल राई, अनन्त तामाङ, विमलघर्ति मगर, अञ्जन विष्टलगायत ९ जना आजको ट्रेनिङमा आएनन्, मेरो मात्रै होइन, टिमको कसैको पनि फोन उठाएका छैनन्,’ उनले भने, ‘विभागीय खेलाडीको हकमा अब विभागमा चिठी जान्छ, अरूको हकमा अन्य खेलाडीले प्रतिस्थापन गर्छन् । उनीहरू के कारणले छाडेर गएको भन्ने नै थाहा छैन ।’

हिजो टिम मिटिङ पनि राम्रो भएको र त्यहाँबाट छुटेको बेलुका कसले के भन्यो के गर्यो भन्ने आफूलाई थाहा नभएको बताए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सोध्दा केही नभनेको प्रतिक्रिया दिएको उपाध्यायले सुनाए ।

‘होस्टेल बस्ने कि होटेल बस्ने भन्ने कुरामा खेलाडीहरूको असन्तुष्टि थियो,’ उनले भने, ‘तर हामीले होटल मै राखेका थियौं । कोचसँग केही डिस्कस भयो भनेर सोध्दा केही भएको छैन भन्छ ।’

उपाध्यायले खेलाडीहरूलाई म्यासेज पनि पठाइसकेको तर रिप्लाई नभएको बताए ।

‘हाम्रो राष्ट्रिय टिमको फेसबु्क ग्रुप पनि खेलाडीहरू कसैले राति १२ बजे कसैले आज बिहान लिभ गरिरहेका छन्,’ उनले भने, ‘मैले सबैलाई हिजो बेलुका नै जानकारी गराइसकेँ । वहाँहरूको पनि सम्पर्क भएको छैन कि भन्ने लाग्छ ।’

यद्यपि, अखिल नेपाल फुटबल संघ (एन्फा) उच्च स्रोतले भने अब्दुल्लाहसँगको विवाद र रोहितलाई टिमबाट हटाउने भन्ने विषयमा झगडा भएकाले खेलाडीहरूले टिम छाडेको बताएको छ ।