लुकाकु फर्काउन चेल्सी प्रयासरत

लन्डन, जेठ १७ (खेलाडी)– म्यानचेस्टर सिटीलाई पराजित गरेर युरोपेली च्याम्पियन बनेको चेल्सीका मुख्य प्रशिक्षक थोमस टचेलले अर्को सिजनको तयारी सुरु गरेका छन् । जनवरीमा फ्रांक लाम्पार्ड बर्खास्त भएपछि चेल्सीको नेतृत्व गरेका टचेलले पहिलो सिजनमै चेल्सीलाई युरोपेली च्याम्पियन बनाइसकेका छन् ।

आगामी सिजन इङ्लिस प्रिमियर लिगमा प्रवल दाबेदार देखिएको चेल्सीले आफ्नो फ्रन्ट लाइन अझै मजबुत बनाउन बेल्जियन फरवार्ड रोमेलु लुकाकुलाई लन्डन फर्काउने प्रयास अगाडि बढाएको बताइएको छ । दी गार्जियनका अनुसार चेल्सीका मुख्य प्रशिक्षक टचेलले क्लबकै पूर्व खेलाडी लुकाकुलाई आफूले चाहेका खेलाडी सुचीको शीर्ष स्थानमा राखेका छन् ।

लुकाकुले २०११ देखि २०१४ सम्म चेल्सीमा रहेर विभिन्न क्लबमा लोनमा खेल्दै तीन सिजन बिताएका थिए । त्यसपछि २०१४ मा एभर्टनले किनेर २०१७ मा म्यानचेस्टर युनाइटेडलाई बेचेको थियो ।

युनाइटेडमा अपेक्षीत प्रदर्शन गर्न नसकेका लुकाकु त्यसपछि इटालियन क्लब इन्टर मिलान पुगेका थिए । २०१९ देखि इन्टरको अग्रपङति सम्हालेका लुकाकुले यसै सिजन सिरी ’ए’को उपाधि उचालिसकेका छन् ।

राम्रो लयमा रहेका बेल्जियन फरवार्ड लुकाकुलाई चेल्सी फर्काएर टचेल प्रिमियर लिगमा सशक्त टीमसहित आगामी सिजन प्रतिस्पर्धा गर्न चाहन्छन् ।