विवाइसी महिला गोल्डकप

विवाइसी महिला गोल्डकपः दुबै टोलीको लक्ष्य उपाधि

  • प्रदिप पाठक

धनगढी । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

वनदेवी युवा क्लबको आयोजना वैशाख तीन गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलअघि दुबै टोलीले उपाधि जित्ने दावी गरेका छन् । शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा फाइनलिष्ट दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दावी गरेका हुन् ।

उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले टोलीको लक्ष्य उपाधि भएको बताइन् । उनले रातीको समयमा खेल्दा केही कठिनाई भएता पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरिन् ।

‘पहिलो पटक लाइटमा खेल्दा आउने समस्याले गार्हो भइरहेको छ । कुनै बेला लाइट समस्या आउँदा खेलको रिदम बिग्रने समस्या छ,’ कप्तान बस्नेतले भनिन्, ‘महिला गोल्डपक पहिलो पटक भएको हुँदा यसले हामी सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पियन हुन्छौं । त्यही अनुरुपको तयारी गरिरहेका छौं ।’

एपिएफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नको लागि खेल्ने बताए ।

‘लिगमा पनि लगातार जितिरहेका छौं । नकआउट प्रतियोगिता पनि जित्छौं,’ प्रशिक्षक थारुले भने, ‘हामीले पुलिसलाई हराउँदै आएका छौं । फेरि हराएर उपाधि जित्छौं ।’

एपिएफले सेमिफाइनलमा आर्मीलाई ३-२ ले हराउँदै फाइनलको टिकट काटेको थियो ।

पुलिसका कप्तान र प्रशिक्षकले पनि उपाधि जित्ने दावी गरेका छन् । लामो समयपछि प्रतियोगिताहरुको फाइनलमा पुगेकोले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ ।

पुलिसकी कप्तान घिमकुमारी गुरुङले पनि जित्नको लागि खेल्ने बताइन् ।

‘जित्नको लागि खेल्छौं । सबै जनाले त्यही अनुसार तयारी गरेका छौं,’ कप्तान  गुरुङले भनिन्, ‘लाइटमा नयाँ अनुभव लिइरहेका छौं । रमाइलो पनि भइरहेको छ । दिउँसो खेलेको भए गर्मी हुन्थ्यो । राती हुँदा सजिलो पनि भएको छ ।’

पुलिसका प्रशिक्षक संजीव जोशीले पनि जित्नकै लागि फाइनल खेल्ने बताए ।

‘धेरै बर्षपछि फाइनल पुगेका छौं । जित्नको लागि खेल्छौं,’ प्रशिक्षक जोशीले भने, ‘मैदानमा केही समस्या छ । बललाई चाहे अनुसार खेलाउन गार्हो भइरहेको छ । नयाँ फर्मेसन अनुसार टिमले पनि प्रगति पाइरहेको छ । राम्रै नतिजा आउँछ ।’

पुलिसले सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लबलाई ३-० को अन्तरले हराउँदै उपाधिका लागि एपिएफसँगको भेट पक्का गरेको थियो ।

शनिबार धनगढी रंगशालामा समापन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा प्लेअर अफ दी म्याचले ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले १० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ ।