म्यानचेस्टर युनाइटेड

‘एरिक टेन ह्यागलाई राख्न आयाक्सको हरसम्भव प्रयास’

लन्डन । आयाक्सले मुख्य प्रशिक्षक एरिक टेन ह्यागलाई क्लबमै राख्न हरसम्भव प्रयास गर्ने टेक्निकल म्यानेजर गेरी ह्याम्स्ट्राले बताएका छन् ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड टेन ह्यागलाई क्लबमा भित्र्याउने अन्तिम तयारी गरिरहेको छ । र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको दाबी अनुसार टेन ह्यागलाई तीन वर्षका लागि अनुबन्धन गर्ने करिब निश्चित छ ।

आइतबार भएको डच कपको फाइनलमा टेन ह्यागको आयाक्स पिएसभी इन्डोभनसँग २–१ गोलको नतिजामा पराजित भएको थियो ।

‘हामीलाई आशा छ, उनी बस्नेछन्,’ ह्याम्स्ट्राले भने, ‘टेन ह्यागले गरेको उत्कृष्ट कामपछि उनीप्रतिको रुचि बढेको छ, र त्यो स्वभाविक हो ।’

यसअघि नै दुई पटक आयाक्सलाई एरडिभिजी च्याम्पियन बनाइसकेका ह्यागको टिमले शीर्ष स्थानमा चार अंकको अग्रता कायम राखेको छ ।

‘हामीले टेन ह्यागलाई आयाक्समै राख्ने हरसम्भव प्रयास गरेका छौं,’ उनले भने, ‘त्यसमा हामी निकै व्यस्त पनि रह्यौं ।’

खराब लयको शिकार भएको युनाइटेडले मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेर अन्तरिम प्रशिक्षकमा राल्फ रागनिकलाई भित्र्याएको थियो । रागनिकको सम्झौता यसै सिजनको अन्त्यसम्म मात्रै भएकाले युनाइटेड नयाँ प्रशिक्षकको रूपमा टेन ह्यागलाई भित्र्याउन चाहन्छ ।