फ्रेन्च लिग वान

पिएसजी उपाधि रक्षाको संघारमा

पेरिस । नेइमार र केलियन एमबाप्पेको समान एक गोलमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले आइतबार फ्रेन्च लिग वानमा मार्सेलीलाई २-१ ले पराजित गरेको छ । 

३२ खेलबाट ७४ अंक बटुलेको पिएसजीले दोस्रो स्थानको मार्सलीमाथि १५ अंकको अग्रता लिएको छ । 

१२औं मिनेटमा नेइमारको गोलमा पिएसजीले अग्रता लिएको थियो । ३१औं मिनेटमा कालेटाकारले मार्सेलीलाई खेलमा फर्काएका थिए । 

इन्जुरी समयको पाँचौ मिनेटमा एमबाप्पेले पेनाल्टीको सदुपयोग गर्दा पिएसजीले २-१ को अग्रता लिएको थियो ।

८५औं मिनेटमा विलियम सालिवाको गोल भिडियो सहायक रेफ्री (भिएआर) ले अफसाइड भएको भन्दै मान्यता नदिँदा मार्सेलीले खेलमा फर्कने अवसर गुमाएको थियो ।

पिएसजीको लिग वानमा यो लगातार तेस्रो जित हो । यसअघि माउरिसियो पोचेटिनोको टोलीले लिग वानको उपाधि सम्भावना बलियो पार्ने क्रममा पछिल्लो दुई खेलमा क्रमशः ५-१ र ६-१ को जित निकालेको थियो ।