विवाइसी महिला गोल्डकप

मुख्यमन्त्री विवाइसी महिला गोल्डकपको तयारी पूरा, ट्रफी र टाइसिट सार्वजनिक

  • सिताराम ओझा

धनगढी । धनगढीमा सुरु हुन लागेको प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक वनदेवी युवा क्लबले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनमार्फत महिला गोल्डकपको तयारी पूरा भएको जनाएको हो । वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा विभागीय टिमसहित ८ क्लबको सहभागिता छ । अध्यक्ष जोशीले गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताए ।

प्रतियोगितामा ‘प्लेअर अफ दी म्याच’ लाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष जोशीले बताए । प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको अध्यक्ष जोशीले बताए ।

आयोजकका अनुसार धनगढी रंगशालामा प्रतियोगिता रात्रिकालीन हुने छ । दिउँसो अत्याधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष जोशीले बताए ।  

‘खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो’ भन्ने मुल नारा रहेको प्रतियोगिता मोफसलमा नेपाली महिला फुटबल खेलाडीहरुको सहभागिता रहने सर्वाधिक धनराशीको प्रतियोगिता रहेको उनको दावी छ ।

‘नेपालमा महिला गोल्डकप फुटबल प्रतियोगिता कम भएको अवस्थामा यो प्रतियोगितालाई विशेष रुपमा हेरिएको छ ।’ क्लबका अध्यक्ष जोशीले भने, ‘प्रतियोगितालाई उत्सव र सानको रुपमा हेरिन्छ भन्ने आशा पनि उजागर गरिएको छ ।’

टाइसिट तथा ट्रफी सार्वजनिक

शनिबारदेखि सुरु हुने प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ । शनिबारको पहिलो खेल विभागीय टिम नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहट बीच हुने छ ।

यस्तै, पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरिएको छ ।