नागेल्सम्यानलाई बायर्नमा पहिलो उपाधि

म्युनिख, (खेलाडी)- रोबर्ट लेवान्डोवस्की र थोमस मुलरको गोलमा मंगलबार राति डिएफएल सुपरकपमा बोरुसिया डर्टमन्डमाथि ३-१ को विजयी नतिजा निकालेपछि जुलियन नागेल्सम्यानले बायर्न म्युनिखको प्रशिक्षकका रुपमा पहिलो उपाधि उचालेका छन् । 

जर्मन बुन्डेसलिगा र डिएफबी पोकालका विजेताबीच प्रत्येक वर्ष सिजनको सुरुआतमा हुने प्रतियोगितामा बायर्नले लगातार तेस्रो वर्ष घरेलु फुटबलको चिर प्रतिद्वन्द्वीलाई पराजित गर्‍यो । 

ग्रेड मुलरले एकै सिजनमा ४० गोल गर्दै बनाएको कीर्तिमान तोड्ने क्रममा लेवान्डोवस्कीले २०२०-२१ सिजनको अन्तिम खेलमा मंगलबार बायर्नका लागि दुई गोल गरे । 

सेर्गी जिनाब्रीको पासलाई गोलमा परिणत गर्दै मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा बायर्नलाई अग्रता दिलाएका लेवान्डोवस्कीले दोस्रो व्यक्तिगत गोल ७४औं मिनेटमा गरेका थिए । 

थोमस मुलरले दोस्रो हाफको चौथो मिनेटमा एकल प्रयासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए । 

मार्को रिउसले जुडे बेलिङघमको पासमा गोल गर्दै ६४औं मिनेटमा पुनरागमनको संकेत गरेका थिए । तर लेवान्डोवस्कीले समय सकिन १६ मिनेट बाँकी रहँदा सिजनको ४१औं व्यक्तिगत गोल गरेर बायर्नलाई सहज जित दिलाए ।