लिभरपुलको सहज जितमा सालाह नायक

नर्विच, (खेलाडी)- मोहम्मद सालाहले नायकको भुमिका निर्वाह गरेपछि लिभरपुलले आइतबार राति नर्विच सिटीमाथि ३-० को जित हासिल गर्दै नयाँ सिजनको सुरुआत गरेको छ ।

नर्विचको होम क्यारो रोडमा लिभरपुलका फरवार्ड सालाहले टोलीका तीनवटै गोलमा भुमिका निर्वाह गरे । एउटा गोल आफै गरेका सालाहले त्यसअघि दुई गोलको लागि अवसर सिर्जना गरेका थिए । 

सालाहको पासमा डिएगो जोटाले गोल गर्दै २६औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । योर्गान क्लोपको टोलीका लागि दोस्रो गोल रोबर्टो फिर्मिन्होले ६५औं मिनेटमा गरे । फिर्मिन्होले पनि सालाहकै पासमा गोल गरेका थिए । 

सालाहले समय सकिन १६ मिनेट बाँकी रहँदा एकल प्रयासमा गोल गरेर लिभरपुलको तीन अंक पक्का गरेका थिए ।