मेसी, नेइमार र रामोस अनुपस्थित खेलमा पिएसजीको संघर्षमय जित

पेरिस, (खेलाडी)- लियोनेल मेसीले स्ट्यान्डबाट हेरेको खेलमा उनको नयाँ टोली पेरिस सेन्ट जर्मन (पिएसजी)ले स्ट्रासबर्गमाथि ४-२ को संघर्षपूर्ण जित हासिल गरेको छ । 

माउरिसियो पोचेटिन्होले आइतबार रातिको खेलमा मेसी र नेइमार दुवैलाई आराम दिएका थिए । दुवै खेलाडी फिट्नेस हासिल गर्ने प्रयासमा रहेकाले उनीहरुलाई आराम दिइएको हो । तर नयाँ सिजनका लागि भित्रयाइएका अर्का स्टार सर्जियो रामोसले पनि मैदान प्रवेश नगरेको दिन मेसी र नेइमारसँगै मैदानमा वार्मअप भने गरेका थिए । 

मेसी, नेइमार र रामोस अनुपस्थित रहेको खेलमा किलियन एमबाप्पे पिएसजीको जितमा नायक बने । टोलीका लागि दोस्रो गोल गरेका एमबाप्पेले त्यसपछि तेस्रो गोलका लागि जुलियन ड्रयाक्जलर तथा चौथो गोलका लागि पाव्लो साराबियालाई अवसर सिर्जना गरिदिएका थिए । 

त्यसअघि माउरो इकार्डीको गोलमा पिएसजीले तेस्रो मिनेटमै अग्रता लिएको थियो । 

१० जनामा सिमित भएर खेलको अन्त्य गरेको स्ट्रासबर्गका लागि केभिन गामेरियो र लुडोभिच एजोर्केले सान्त्वनास्वरुप एक/एक गोल फर्काएका थिए । स्ट्रासबर्गका एलेक्जेन्डर डिजिकुले समय सकिन ९ मिनेट बाँकी रहँदा दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेपछि टोली १० खेलाडीमा सिमित भएको थियो । 

आइतबारै भएका अन्य खेलमा एंगर्सले लियोनमाथि ३-० को जित निकाल्दा क्लेरमोन्ट फुटले ट्रोयेस तथा नान्टेसले मेट्जमाथि २–० को समान अन्तरमा जित हासिल गरे । ब्रेस्ट र रेनेसले १-१ तथा रेइम्स र मोन्टपिलरले ३-३ को बराबरी नतिजा निकाले । 

फ्रान्सेली लिग वानमा शनिबार भएका खेलमा लोरियन्टले मोनाकोलाई १-० तथा निसले लिलेलाई ४-० को अन्तरमा हराएका थिए ।