चर्च ब्वाइज युनाइटेड क्लब

शीर्ष डिभिजन लिगसम्म चर्च ब्वाइजको यात्रा

तस्विर साैजन्यः चर्च ब्वाइज युनाइटेड

काठमाडौं । २०६६ सालमा ललितपुर जिल्ला खेलकुद परिषद्मा दर्ता भएपछि मात्र हो, चर्च ब्वाइज युनाइटेड (सिबी युनाइटेड) क्लबको आधिकारीक फुटबल यात्रा सुरु भएको । क्लब दर्ताकै बेला शीर्ष डिभिजन लिग खेल्ने सपना देखेको टोलीका लागि त्यतिबेला सपना पूरा गर्न कति मेहनत र धैर्य गर्नु पर्छ भन्ने कुनै हेक्का थिएन ।

२०७६ सालमा ‘सी’ डिभिजन लिगको हैसियत हासिल गर्नु अघि पाँच पटक छनोट प्रतियोगितामा असफल हुँदा पनि सिबी युनाइटेड कहिल्यै हतास बनेन ।

‘सी’ डिभिजन लिगमा बढुवा भएपछि भने क्लबले पछाडी फर्केर हेर्नु परेको छैन । तेस्रो डिभिजनमा बढुवा भएकै वर्ष ‘सी’ च्याम्पियन बन्दै टोलीले ०७७ सालमा आफ्नो स्तर दोस्रो डिभिजनमा ल्यायो । त्यही कायम राख्दै टोली जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा एक खेल अगावै शीर्ष डिभिजनको लिगमा बढुवा भइसकेको छ ।

फाेटाेः चर्च ब्वाइज युनाइटेड

यसक्रममा सिबी युनाइटेड तेस्रो डिभिजनबाट लगातार च्याम्पियन बन्दै शीर्ष डिभिजनसम्मको यात्रा गर्ने दोस्रो टोली बन्योे । यसअघि शीर्ष लिगमा सर्वाधिक सफल बनिसकेको मनाङ मर्स्याङदी क्लब ‘डी’ डिभिजनबाट लगातार च्याम्पियन बन्दै ‘ए’ डिभिजन लिगमा उक्लिएको थियो ।

‘चर्च’ झट्ट नाम सुन्दा क्रिस्टियन धर्मसँग सम्बन्धित रहेजस्तो सुनिए पनि यो फुटबल खेलकै लागि भनेर स्थापित गरिएको विशुद्द खेलकुद संस्था रहेको क्लबका पदाधिकारीहरु दाबी गर्छन । दर्ता गर्नुअघि हिमालयन स्पोर्टिङ क्लबको नाम जुराए पनि यो नाममा अर्कै क्लब दर्ता भइसकेको कारण चर्च ब्वाइज नाम रोजेको अध्यक्ष रुबेन राई बताउँछन् ।

‘चर्च’ धार्मिक नामसँग मेल खान गए पनि यो विशुद्द फुटबल क्लब हो । नाम संयोगले जुरेको मात्र हो,’ उनले भने, ‘पहिले हिमालयन स्पोर्टिङ राख्न खोजेका थियौं । तर, यो नामको क्लब दर्ता भइसकेको भएकाले चर्च ब्वाइज युनाइटेड राख्यौं ।’

फाेटाेः चर्च ब्वाइज युनाइटेड

राईले आफ्नो क्लबले फुटबललाई गम्भीर रुपमा लिएकाले शीर्ष डिभिजनसम्मको यात्रा तय गर्न सफल भएको बताए ।

उनी भन्छन्, ‘फुटबल मनबाट खेल्नु पर्छ । चाहे त्यो खेलाडी होस् या म्यानेजरको तर्फबाट । हाम्रो टिमले ‘सी’ छनोटदेखि नै फुटबललाई गम्भीर रुपमा लिएको थियो । छैटौं पटकमा मात्र हामी ‘सी’ डिभिजनमा चढेका हौं ।’

तेस्रो डिभिजनको लागि छनोट खेल्दादेखि शीर्ष डिभिजन लिगसम्मको यात्रा तय गर्दा सिबी युनाइटेडका चार खेलाडीले क्लबको साथ छोडेका छैनन् । अध्यक्ष राई पनि यो सफलतासम्म आइपुग्दा यिनै चार खेलाडी क्लबको प्रमुख खम्बा बनेको बताउछन् ।

‘सी छनोटदेखि ए डिभिजन लिगमा बढुवा हुँदासम्म कुवेर न्यौपाने, सनम राई, अनोस मगर र साइमन राई गरी चारजना खेलाडी हामीसँग हुनुहुन्छ,’ अध्यक्ष राईले भने, ‘उहाँहरु प्रति विशेष धन्यवाद । यी चार खेलाडी नै क्लबको मुख्य खम्बा हुन् ।’

ए डिभिजन लिगमा बढुवा भए पनि चर्चको आर्थिक स्रोत बलियो छैन । साधारण सभाबाट, प्रायोजकबाट र स्व–इच्छामा प्राप्त हुने सहयोगहरु र एन्फाले तयारीका लागि दिने रकमले नै अहिलेसम्म क्लब धानिएको अध्यक्ष राई बताउँछन् ।

टिममा व्यवस्थापकको जिम्मेवारी समेत लिएका राईका अनुसार क्लबले बी डिभिजन लिगका लागि ४८ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, शीर्ष डिभिजन लिगका लागि यो रकम अपुग हुने थाहा भए पनि हालसम्म यसबारे केही नसोचेको बताउछन् ।

‘बी डिभिजनका लागि ४८ लाख बजेट थियो । ए डिभिजनका लागि सोचेका छैनौं । हाम्रो लक्ष्य ए डिभिजनमा पुग्नु थियो, जुन पूरा भएको छ । त्यसैले शीर्ष डिभिजनका लागि योजना बनाउन बाँकी छ,’ उनी भन्छन् ।

उनले ए डिभिजन लिगमा शीर्ष क्लबहरुलाई कडा चुनौती प्रस्तुत गर्ने समेत बताए ।

यस्तै, क्लबका मुख्य प्रशिक्षक कविचन्द्र राई यो सफलताको सम्पूर्ण श्रेय अध्यक्ष राईलाई नै दिन्छन् ।

‘खेलाडीहरु पूर्ण फिट थिए । यसैकारण मलाई निकै सहज भयो,’ प्रशिक्षक राईले भने, ‘म प्रशिक्षकमात्र हु । टिम र खेलाडी छनोट सबै श्रेय क्लबका म्यानेजरलाई जान्छ ।’