भार्डीको निर्णायक गोलमा लेस्टरको जित

लेस्टर, (खेलाडी)- इङ्लिश प्रिमियर लिग अन्तर्गत शनिवार राती भएको खेलमा लेस्टर सिटीले उल्भरह्‍याम्टनलाई १-० नतिजामा हराउँदै नयाँ सिजनको सुखद सुरुआत गरेको छ । 

घरेलु मैदानमा जित निकाल्ने क्रममा लेस्टरका लागि मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा जेमी भार्डीले गरेको एउटै गोल निर्णायक बन्यो । भार्डीले रिर्काडो परेराको पासमा भलीमार्फत गोल गरेका थिए । 

लिगको अर्को खेलमा वाट्फोर्डले एस्टन भिल्लालाई ३-२ ले पराजित गर्‍यो । 

१०औं मिनेटमा इमानुअल डेनिसले गरेको गोलबाट वाट्फोर्डले अग्रता लिएको थियो । ४२औं मिनेटमा स्मालिया सारले गोल गर्दै वाट्फोर्डको अग्रता दोब्बर पारे । त्यस्तै ६७औं मिनेटमा वाट्फोर्डका जुयन हर्नान्डेजले तेस्रो गोल गरेका थिए । 

तीन गोलले पछि परे पनि एस्टन भिल्लाले हरेस खाएन । ७०औं मिनेटमा एस्टन भिल्लाका जोन म्यागिन तथा इन्जुरी समयमा ड्यानी इङग्सले गोल फर्काए । तर भिल्लालाई खेलमा फर्काउन त्यो पर्याप्त भएन ।