लुकाकुमाथि चेल्सीको आशा

लन्डन, (खेलाडी) - बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु सात वर्षपछि चेल्सी फर्किएका छन् ।

चेल्सीले लुकाकुलाई बिहीबार क्लबको कीर्तिमानी १ सय ३५ मिलियन डलरमा अनुबन्धन गरेको हो । गत सिजन इन्टर मिलानले इटालियन सिरी ‘ए’ को उपाधि जित्दा लुकाकु टोलीका प्रमुख सदस्य थिए । तर आर्थिक संकटका लागि इन्टर लुकाकुलाई प्रिमियर लिग क्लब चेल्सीलाई बेच्न बाध्य भयो । सात वर्ष अघि लुकाकु स्टाम्फोर्डबाट बिदा भएका थिए । सन् २०१४ मा चेल्सीबाट लोनमा एभर्टन गएका लुकाकुले तीन सिजन त्यहाँ बिताएपछि म्यानचेस्टर युनाइटेडमा अनुबन्धन भए । गत दुई सिजन भने उनी इन्टरमा आबद्ध थिए ।

‘म निकै खुसी छु र क्लब फर्किंन पाउँदा आफूलाई भाग्यमानी सम्झँन्छु,’लुकाकुले ५ वर्षको सम्झौतापछि भने, ‘मेरो लागि चेल्सीको यात्रा निकै लामो रह्यो । म पहिलो पटक स्टाम्फोर्ड ब्रिजमा आउँदा मैले सिक्नुपर्ने धेरै पक्षहरू थिए । तर यसपटक चेल्सी फर्कंदा मैले धेरै अनुभव बटुलेको छु र म निकै परिपक्व भैसकें । मेरो लागि यो नयाँ चुनौती र अवसर पनि हो । आशा छ हामीले अझ धेरै सफलता पाउनेछौं ।’

इन्टरबाट लुकाकुले दुई सिजनमा ६४ गोल गरेका थिए । चेल्सीबाट लुकाकुको पहिलो सिजन यादगार भने बन्न सकेको थिएन । उनले १५ खेलमा कुनै पनि गोल गर्न सकेका थिएनन् । १८ वर्षमा लुकाकु पहिलो पटक चेल्सीमा अनुबन्धन हुँदा उनलाई डिडियर ड्रोग्बाको उत्तराधिकारीको रूपमा हेरिएको थियो ।

तर पहिलो टोलीमा विरलै अवसर पाएपछि उनी निराश बन्न पुगे । चेल्सीबाट लोनमाएभर्टन गएपछि मात्र लुकाकु आफ्नो क्षमता प्रमाणित गर्न सफल भए । एभर्टनमा तीन सिजनमा ८७ गोल गरेपछि चेल्सीले लुकाकुलाई क्लबमा फिर्ता बोलाउन चाहे पनि उनी ७५ मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्धन भएका थिए ।

‘चेल्सी छोडेपछि मैलै धेरै आरोहअवरोह भोग्नुपर्‍यो । तर अनुभवले मलाई थप बलियो बनायो,’लुकाकुले भने, ‘आशा छ म क्लबको उपाधि लक्ष्यमा साथी बन्न सक्नेछु । म चेल्सीको जर्सीमा पुनः मैदान फर्कन आतुर छु ।’

गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थोमस टुचेलको टोली लुकाकुको आगमनले यस सिजन इङ्लिस प्रिमियर लिगको उपाधि भित्राउने लक्ष्यमा छ । ‘लुकाकु अहिले विश्वकै उत्कृष्ट स्ट्राइकर हुन्,’चेल्सीकी निर्देशक मरिना ग्रनोभास्कियाले भनिन्, ‘हामी लुकाकुलाई टोलीमा फर्काउन पाउँदा हर्षित छौं । आशा छ, हामीले यस सिजन थप सफलताहरू चुम्नेछांै र लुकाकुको उपस्थिति टोलीको उपाधि लक्ष्यका लागि अर्थपूर्ण रहनेछ ।’

गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थोमस टुचेलको टोली चेल्सी लुकाकुको आगमनले यस सिजन इङ्लिस प्रिमियर लिगको उपाधि भित्राउने लक्ष्यमा छ ।