राष्ट्रिय महिला लिग

यस्तो रह्यो महिला लिगको पहिलो चरण

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय महिला लिगको पहिलो चरण शुक्रबार सकिएको छ ।

चोटका कारण लामो समयदेखि उपचारमा रहेकी नेपाली महिला फुटबलकी सुपरस्टार सावित्रा भण्डारी (साम्बा)ले पुनरागमन जनाउनु बिहीबार सुरु राष्ट्रिय लिगको मुख्य आकर्षण थियो ।

साम्बाको पुनरागमनसँगै लिगको पहिलो खेलमै साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबले उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबलाई २–१ को नतिजामा हरायो ।

गत वर्ष भएको प्रतियोगिताको पछिल्लो संस्करण दौरान नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएयता साम्बा मैदान प्रवेश गरेको त्यही पहिलो खेल थियो । गत वर्ष फागुन तीन गते घाइते भएपछि पहिलो पटक उनी बिहीबार आर्मीविरुद्ध ६०औं मिनेटमा रविना गोलेलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेकी थिइन् ।

साम्बाले गत संस्करणको एकै खेलमा व्यक्तिगत एक दर्जन गोल प्रहार गरेकी थिइन् । माघ १९ गते चौदण्डीगढी नगरपालिकाविरुद्धको खेलमा एपिएफले लिगकै सर्वाधिक २२-० गोल गर्दा उनले १२ गोल गरिन् ।

साम्बाको यो कीर्तिमान अहिलेसम्म लिगमा कोही खेलाडीले तोड्न सकेका छैनन् । गत वर्ष लिगका ९ खेल खेलकी उनले सात ह्याट्रिकसहित कुल ३८ गोल गरेकी थिइन् ।

गत संस्करणमा दोस्रो स्थानको आर्मीमाथि १० अंकको अग्रता कायम गर्दै उपाधि कब्जा गरेको एपिएफको उपाधि रक्षा अभियानले यसपाली गतिलो सुरुआत गरेको छ ।

गत सिजनका सबै १२ खेलमा जित हासिल गरेको टोलीले आफ्नो विजयी यात्रालाई थप एक खेलमा लम्ब्याउन पनि सफल भएको छ ।

जारी लिगको पहिलो चरण सकिदाँ चार खेलमा कुल १२ गोल भएका छन् । जसमध्ये सबैभन्दा बढी गोल धनगढी उपमहानगरपालिकाले गरेको छ ।

चैत १० गतेदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन धनगढीले वालिङ नगरपालिकालाई ६–० को अन्तरमा हराएको थियो । वालिङ गतवर्ष १७ अंकका साथ लिगको चौथों स्थानमा थियो ।

पहिलोपटक राष्ट्रिय लिगमा छनोट भएको धनगढी गत कात्तिकमा भएको उपमेयर कप महिला राष्ट्रिय छनोटको विजेता हो ।

राम्रो लयमा देखिएको धनगढीका लागि चन्द्रा बस्नेतले चार गोल गरेकी थिइन् । जारी लिगमा त्यो पहिलो ह्याट्रिक थियो ।

यसैगरी पहिलो चरणअन्तर्गत चितवनमा सम्पन्न खेलमा ललितपुर महानगरपालिका र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरे । ललितपुरले चन्द्रपुर नगरपालिका रौतहटलाई १–० को नतिजामा हराउँदा अर्को खेलमा पुलिसले विराटनगरलाई २–० को नतिजामा पराजित गर्यो ।

चैत १० गतेबाट सुरु भएको राष्ट्रिय लिगमा आठ टोली सहभागी छन् । लिगको दोस्रो चरणमा आइतबार ललितपुर महानगरपालिका र आर्मी तथा विराटनगर उपमहानगरपालिका र वालिङबीच खेल हुँदैछ ।

यसैगरी सोमबार धनगढी उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका तथा पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।