मेसीको आगमनसँगै पिएसजीको च्याम्पियन्स लिग लक्ष्य चुलिँदै

पेरिस, (खेलाडी)- अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई अनुबन्धन गरेसँगै फ्रेन्च लिग वानको महारथी क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)को च्याम्पियन्स लिग उपाधि लक्ष्य थप चुलिएको छ ।

लामो समयको बार्सिलोना बसाईमा पूर्णविराम लगाएपछि पिएसजीसँग दुई वर्षे सम्झौता गर्दै मेसी मंगलबार पेरिस आइपुगेका थिए । मेसीको प्रतिक्षामा हजारौं समर्थक विमानस्थल देखी  पिएसजीको घरेलु मैदान सम्म उपस्थित भएका थिए ।

मंगलबारै क्लबसँग सम्झौता गरे पनि मेसी बुधबार मात्र पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । गत बिहीबार स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले अप्रत्यासित रुपमा मेसीसँगको सम्झौता अन्त्य गरेको थियो । बार्सिलोनाले चाहाना हुँदाहुदै पनि ला लिगाको आर्थिक नियमका कारण मेसीसँगको सम्झौता अन्त्य गर्न बाध्य भएको जनाएको थियो ।

४ पटकका च्याम्पियन्स लिग विजेता मेसी पाँचौं उपाधिको लक्ष्यमा छन् । यता पिएसजीले भने अहिलेसम्म च्याम्पियन्स लिग उपाधि जितेको छैन । 

नेइमारलाई विश्‍व कीर्तिमानी रकममा अनुबन्धन गरे पनि पिएसजी च्याम्पियन्स लिग उपाधि लक्ष्यमा भने सफल हुन सकेको छैन । किलियन एमबाप्पे र नेइमारजस्ता विश्‍वस्तरीय च्याम्पियन खेलाडीहरुको साथ यसअघि नै रहेको टोलीले यसपाली रियाल मड्रिडबाट सर्जियो रामोस तथा बार्सिलोनाबाट मेसीलाई अनुबन्ध गरेपछि च्याम्पियन्स लिग उपाधि लक्ष्य बलियो भएको विश्‍वास लिएको छ ।

दुई सिजन अघि फाइनल सम्मको यात्रा तय गरे पनि पिएसजी उपाधि भिडन्तमा भने बार्यन म्युनिखसँग निराश भएको थियो ।

‘मेरो लक्ष्य अझै पनि च्याम्पियन्स लिग जित्‍ने रहेको छ,’ पछिल्लो पटक सन् २०१५ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका मेसीले भने, ‘पिएसजी पनि च्याम्पियन्स लिग जित्‍न चाहन्छ । त्यसैले मलाई लाग्छ, यो मेरा लागिसपना साकार पार्ने सबै भन्दा राम्रो स्थान हो ।’
 
गत सिजन पिएसजीले नै बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लगाइदिएको थियो । यद्धपी पिएसजीको यात्रा पनि सेमिफाइनलमा सीमित भएको थियो ।

‘कहिलेकाँही विश्‍वकै उत्कृष्‍ट टोलीमा हुँदा पनि च्याम्पियन्स लिग जित्‍न सकिँदैन,’ मेसीले भने, ‘च्याम्पियन्स लिग कति कठिन छ भन्‍ने हामीलाई थाहा छ । पिएसजीलाई पनि त्यो थाहा छ । पछिल्लो केही सिजन यता पिएसजीले आफूलाई च्याम्पिन्स लिगको दाबेदारको रुपमा उभ्याउदै आएको छ । च्याम्पियन्स लिग यस्तो प्रतियोगिता हो जहाँ विश्‍वका उत्कृष्‍ट क्लबहरुले प्रतिस्पर्धा गर्छन र सर्वोेत्कृष्‍ट एक टोलीले विजेताको ताज पहिरिन्छ ।’

मेसीलाई पिएसजीले वार्षिक ४ करोड १० लाख डलर दिने बताइएको छ । जहाँ उनले ३० नम्बरको जर्सी लगाउने छन् । 

‘म लियोनल मेसीलाई पिएसजीको खेलाडीको रुपमा सार्वजनिक गर्न पाउदा निकै गर्व महशुष गरिरहेको छु,’ पिएसजीका मालिक नासिर अल खलिफीले भने, ‘यो क्लबका साथै सारा विश्‍व जगतलाई नै निकै अविश्मरणीय र ऐतिहासिक क्षण हो ।’