इङ्लिस प्रिमियर लिग

रोनाल्डो लयमा फर्किएको पोग्बाको विश्वास

लन्डन । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले  टोटनहमविरुद्ध जित निकाल्दा ह्याट्रिक पूरा गरेका  स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लयमा फर्केको विश्वास व्यक्त गरेका छन् ।

शनिबार राति इङ्लिस प्रिमियर लिगअन्तर्गत युनाइटेडले टोटेनहमलाई ३-२ ले हराउँदै शीर्ष चारमा पर्ने सम्भावना जीवित नै राखेको थियो ।

टोटनहमविरुद्ध ह्याट्रिक पूरा गरेका रोनाल्डो विश्व फुटबलको सर्वकालिन गोलकर्ता समेत बनेका छन् । उनको नाममा आठ सय सात गोलको कीर्तिमान रहेको छ । यसअघि जोसेफ विकानको नाममा आठ सय पाँच गोलको कीर्तिमान रहेको थियो ।

‘रोनाल्डो उत्कृष्ट खेलाडी हुन् । हामीलाई यस्तै खेलाडीको आवश्यकता छ,’ फ्रान्सेली मिडफिल्डर पोग्बाले भने, ‘हामीले सुन्दर गोल ग¥यौ । हामीले गोल खाँदा पनि खेलमा फर्कियौ र फेरी गोल ग¥यौ । हामीले यहीं सोच बनाएका थियौ ।’

उनले भने, ‘सबैलाई रोनाल्डोको बारेमा थाहा छ । कोही पनि उसको बारेमा कुरा गर्न चाहदैन । गत साता उनले खेलेका थिएनन् तर, यो खेलमा उनले तीन गोलसहित उत्कृष्ट पुनरागमन गरे । सबैजना खुशी छौ ।’

यसअघि म्यानचेस्टर सिटीविरुद्धको डर्बी खेलमा युनाइटेड ४–१ ले पराजित भएको थियो । जसमा रोनाल्डो बेन्चमा थिए ।

टोटेनहमसँगको जितसँगै म्यानचेस्टर युनाइटेले २९ खेलबाट ५० अंक जोड्दै तालिकाको चौथों स्थानमा उक्लिएको छ । टोटेनहम भने ४५ अंकसहित सातौं स्थानमा छ । यस्तै ६९ अंक जोडेको म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा छ ।