छानबिनको जिम्मा राखेपलाई

काठमाडौं, (खेलाडी)- युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फटबल संघ (एन्फा) का वरिष्‍ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्‍ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीबीचको विवाद छानबिनका सोमबार राष्‍ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको छ ।

फुटबलमा देखिएको विवाद छानबिन गरी समाधान भएको प्रतिवेदन पेस गर्न मन्त्रालयका सचिव केदार न्यौपानेले राखेपलाई निर्देशन दिएको जानकारी दिए । 

‘राष्‍ट्रिय खेलकुद परिषद् सबै खेलकुद संघलाई नियमन गर्ने निकाय भएकाले फुटबलमा भएको समस्या समाधान गर्न परिषद्लाई निर्देशन दिएका छौंं,’ युवा तथा खेलकुद मन्त्रालयका सचिव न्यौपानेले भने, ‘छिटोभन्दा छिटो विवाद समाधान गरी प्रतिवेदन बुझाउन परिपत्र गरेका छौं । परिषद्ले फुटबलको विवादलाई छिट्टै समाधान गर्नेछ ।’

राष्‍ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले वरिष्‍ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको सामाजिक सन्जालबाट घोषणा गरेका थिए । 

सामाजिक सन्जालमा केही हप्तादेखि काम गर्न नदिएको आरोप नेम्वाङलाई लगाएका थिए । निराधार गम्भीर आरोप लगाएको भन्दै नेम्वाङले एन्फामा छानबिनका लागि निवेदन दिएका थिए । 

त्यसलगत्तै बसेको आकस्मिक कार्यसमिति बैठकले छानबिनका लागि खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । जसअनुसार मन्त्री नभएको अवस्थामा मन्त्रालयका सचिवले राष्‍ट्रिय खेलकुद परिषद्लाई छानबिनसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् ।