अर्ली निर्वाचनको माग राख्दै प्रवक्ताबाट राईको राजीनामा

काठमाडौं, (खेलाडी)- अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै स्वतन्त्र तरिकाबाट खबरदारी गर्न प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । 

प्रवक्ताबाट राजीनामा दिए पनि केन्द्रीय सदस्य रहिरहने जानकारी गराएका राईले संघको मध्यावधि चुनावलाई समाधानको मध्यमार्गी प्रस्तावका रूपमा अघि सारेका छन् । 

सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामापत्र बुझाएका प्रवक्ता राईले पत्रकार सम्मेलनमार्फत वर्तमान फुटबलको समाधान चुनावबाट मात्र निस्कने दाबी गर्दै फुटबलभित्र गिजोलिएको राजनीति रोक्न सबै पक्षसँग  आह्‍वान गरेका छन् । एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी वैशाखमा निर्वाचन हुँदैछ । 

‘एन्फामा विवाद र शक्तिसंघर्ष चरम रूपमा हुन थालेको छ । यो समाधान हाम्रो हातमा छैन । एन्फाभित्र जुन शक्तिसंघर्ष चलेको छ, यसको समाधान अहिलेको अवस्थामा सम्भव छैन,’ राईले भने, ‘छिटोभन्दा छिटो जिल्ला र प्रदेश अधिवेशन सकेर ६-७ महिनाभित्र अर्ली चुनाव गर्नुपर्छ । राजीनामा दिएर म उम्किन लागेको होइन । विकल्पका रूपमा अर्ली चुनावको प्रस्ताव गरेको छु । कुनै कित्ताकाट गर्न खोजेको पनि होइन ।’

राईले फुटबलमा पछिलो समय जालझेल र षड्यन्त्र उत्कर्षमा पुगेको बताउँदै यस्तो कार्य रोक्नुपर्ने धारणा राखे । एन्फाभित्र अध्यक्ष र वरिष्‍ठ उपाध्यक्षको विवादले फुटबललाई राम्रो नगर्ने भन्दै मुख्य प्रशिक्षक र उपाध्यक्षबीचको समस्या समाधान गर्न आकस्मिक कार्यसमिति बैठकले नसकेकोमा राईले आलोचना गरे ।

फुटबलभित्रको विवाद एन्फाभित्रैबाट समाधान खोजिनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस गर्ने बैठकको निर्णयबाट गलत नजिर  बस्‍ने भन्दै उनले यसको आलोचना गरे । 

पछिल्लो पटक बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकमा उनले संघभित्र समस्याको समाधान खोजिनुपर्ने धारणा राखेका थिए । यो उनको बैठकमा भिन्‍न मत थियो । एन्फा विवाद मन्त्रालयमा लग्‍नु गलत भएको भन्दै जिम्मेवारीमा बसेर स्वतन्त्रपूर्वक धारणा राख्‍न नसकिने भएकाले राजीनामा दिन पुगेको राईले बताएका हुन् । 

तीन वर्षअगाडि राई अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट एन्फाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । जिम्मेवारी हेरफेरको क्रममा शेर्पाले राईलाई प्रवक्ताको जिम्मेवारी दिएका थिए ।