झापा गोल्डकप

झापा गोल्डकपः सातदोबाटो युथ सेमिफाइनलमा

  • सचिन सुब्बा

बिर्तामोड । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टरफाइनलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । लगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले दोस्रो गोल गरे ।

एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए ।

त्यसअघि छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् । १३औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढामगरले गरेको क्रसर एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे । २१औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाए ।

यस्तै, ४६औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते । ५५औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे । ७४औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

सातदोबाटोको जीतमा एक गोल गरेका सुशील सोमबारको खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद नौ हजार नौ सय ९९ रुपैयाँ प्राप्त गरे ।

मंगलबारको अर्को क्वार्टरफाइनल खेल संकटा क्लब र थ्री स्टर क्लबबीच हुनेछ । संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार बाई पाएर सोझै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।