धनगढी एफसी

धनगढी एफसीले फागुन २५ गते ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । गत संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपविजेता धनगढी एफसीले फागुन २५ गते ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्ने भएको छ । 

धनगढीले सोमबार एक विज्ञप्ती जारी गर्दै सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडीलाई आवद्ध गराउने उदेश्यसहित क्लबले ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्न लागेका जानकारी दिएको हो ।

धनगढी बोराडाँडीस्थित फाप्ला मैदानमा हुने ट्यालेन्ट हन्टमा यस क्षेत्रका सम्पूर्ण खेलाडीहरुलाई २५ गते बिहान साढे ७ बजे उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

ट्यालेन्ट हन्टमा धनगढी एफसीका मुख्य प्रशिक्षक युगलकिशोर राई र मार्की खेलाडी विशाल राई उपस्थित हुनेछन् ।

हन्टबाट छानिएका खेलाडीहरुबाट एक जनाले धनगढी एफसीबाट नेपाल सुपर लिग खेल्न मौका पाउनेछन् । त्यसबाहेक, उत्कृष्ट तीन जना खेलाडीहरुलाई सुदूरपश्चिमकै प्रतिष्ठान एसपीए क्याम्पसमा छात्रवृत्ति समेत प्रदान गरिने क्लबले जनाएको छ ।

गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको हाम्रो धनगढी एफसीले ‘मार्की खेलाडी’ मा राष्ट्रिय टिमका मिडफिल्डर विशाल राई निरन्तर दिएको छ । त्यसबाहेक क्लबले अक्सनमार्फत खेलाडीहरु छनोट गरिसकेका छौं । 
लिगको दोस्रो संस्करण चैत २६ देखि हुनेछ ।