मिलेमतोका आरोपी रेफ्री निलम्बित 

नैरोबी, (खेलाडी)- खेल मिलेमतोको आरोप लागेका शीर्ष फुटबल लिगका पाँच रेफ्रीलाई केन्या फुटबल संघ (एफकेए) ले अस्थायी रूपमा निलम्बन गरेको घोषणा गरेको छ । 

उनीहरूले राष्‍ट्रिय लिगको नतिजालाई नै प्रभावमा पारेको आरोप लगाउँदै केन्या फुटबल संघले अस्थायी रूपमा निलम्बन गर्ने घोषणा गरेको हो । 

तीमध्ये दुई जना रेफ्री रेयमन्ड ओन्यान्गो र इसका मेमुसी फिफाको म्याच फिटनेस टेस्टमा असफल भएपछि सिजनको सुरुआतमा नै फिफा रेफ्रीको सूचीबाट हटाइएका थिए । 

केन्याले यस किसिमको प्रतिबन्ध खेलभावनालाई जोगाउन लगाएको बताएको छ । संघले यसअघि चार खेलाडीलाई पनि प्रतिबन्धित गरिसकेको छ । तीमध्ये एक खेलाडीमाथि अन्तर्राष्‍ट्रिय खेलमा खेल मिलेमतोको आरोप लागेपछि फिफाले आजीवन प्रतिबन्ध गरिसकेको छ ।