सहिद स्मारक ‘बी’ डिभिजन लिग

चर्च ब्वाइजको लगातार दोस्रो जित

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।

आतइबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजले खुमलटार युथ क्लबलाई २–० ले पराजित गर्यो । चर्च ब्वाइजको जितमा दुबै गोल आशिष चापागाईले गरेका थिए ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको चर्च ब्वाइज तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट तीन अंक जोडेको खुमलटार तालिकाको छैटाै‌ स्थानमा खस्किएकाे छ ।

आशिषले ५४औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । आशिषले ७१औं मिनेटमा दोस्रो गोल गरेपछि चर्च ब्वाइजले २–० को जित निश्चित गर्यो ।

यसअघि प्रतियोगिताअन्तर्गत चर्च ब्वाइजले पहिलो खेलमा टुसाल युथ क्लबलाई ५–२ ले पराजित गरेको थियो । उक्त खेलमा आशिषले ह्याट्रिक गरेका थिए ।

आजको दोस्रो खेलमा श्री कुमारी क्लब र सामाजिक युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् भने तेस्रो खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) र मध्यपुर युथ एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।