एन्फा वरिष्‍ठ उपाध्यक्ष र पत्रकारविरुद्ध प्रशिक्षकको निवेदन 

काठमाडौं, (खेलाडी)- नेपाली राष्‍ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्‍ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगै दुई सञ्‍चारकर्मी विभु श्रेष्‍ठ र विभा थापामाथि छानबिन माग गर्दै एन्फामा निवेदन दिएका छन् ।

एन्फा प्रवक्ता किरण राईले बिहीबार प्रशिक्षक अल्मुताइरीले वरिष्‍ठ उपाध्यक्षका साथै अन्य दुई सञ्‍चारकर्मीमाथि छानबिन गर्न माग गर्दै एन्फामा निवदेन दर्ता गराएको जानकारी गराए ।

गत बिहीबार अल्मुताइरीले सार्वजनिक स्थानमा धुम्रपान गरेको विषयलाई लिएर उनको श्रेष्‍ठ र थापासँग विवाद भएको थियो । प्रशिक्षक अब्दुल्लाहले आइतबार सामाजिक सञ्‍जालमा एन्फा वरिष्‍ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले विगत तीन सातादेखि आफ्नो काममा अवरोध गरेको आरोप लगाउँदै  राजीनामा बुझाउन जान लागेको उल्लेख गरेका थिए । 

साथै बिहीबार दर्ता गरिएको निवदेनमा अल्मुताइरीले आफूले धुम्रपान गरेको विषयलाई लिएर निकालिएको विवादमा आफ्नो कुनै गल्ती नरहेको र अनावश्यक विवादमा आफूलाई तानिएको दाबी गर्दै ती सञ्‍चारकर्मीमाथि समेत छानबिनको माग गरेका हुन् ।

यता ती सञ्‍चारकर्मीले पनि आइतबार आफूमाथि समाचार संकलनका क्रममा अल्मुताइरीले अभद्र व्यहार गर्नुका साथै अपशब्द बोलेको भन्दै छानबिनको माग गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरलाई निवेदन बुझाएका थिए ।  

यसअघि बुधबार एन्फाले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामाको विषयमा छलफल गर्न शुक्रबारका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको थियो । नेम्वाङले आफूमाथि व्यक्तिगत आक्षेप लगाउने उद्देश्यले प्रशिक्षकलाई समेत एन्फा राजनीतिमा संलग्‍न गराइएको भन्दै मंगलबार यस घटनाको सत्यतथ्य छानबिनको माग गर्दै एन्फामा निवेदन दर्ता गराएका थिए । राईले सबै निवेदनमाथि शुक्रबार बस्‍ने कार्यसमिति बैठकमा छलफल हुने बताए ।