अर्किड कप सेभेन ए साइड फुटबल प्रतियोगिता

अक्षरिका क्वार्टरफाइनलमा

काठमाडौं । टाइमलाइनलाई टाइब्रेकरमा पराजित गर्दै अक्षरिका छैटौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

मंगलबार अक्षरिकाले टाइमलाइनलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

मंगलबारै काँडाघारीस्थित अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा कौस्तुभ एकेडेमी र डिफेन्डिङ च्याम्पियन केभीएस पनि क्वार्टरफाइनलमा पुगे ।

कौस्तुभले दर्शनालाई टाइब्रेकरमा ६–५ गोलले हरायो । निर्धारित समयमा १–१ बराबरी भएको थियो । केभीएसले एकलब्यमाथि ७–० को सहज जित दर्ता गर्यो । केभीएसका रोशन कार्की र विशाल दर्नालले समान गोल गरे भने उचित राई, सचित खडका र आभाष ठाकुरले १–१ गोल थपे ।