रुस-युक्रेन तनाव

रुससँगको सबैखाले अन्तर्राष्ट्रिय खेल वहिष्कार गर्ने एफएको निर्णय

लन्डन । इङ्ल्यान्डले रुसविरुद्धको अन्तर्राष्ट्रिय खेल वहिष्कार गरेको फुटबल एसोसिएसन (एफए) ले पुष्टि गरेको छ ।

रुसले बिहीबार छिमेकी मुलुक युक्रेनमाथि सैन्य कारवाही अघि बढाएपछि विश्वभरबाट यसको विरोध भइरहेको छ ।

यसैकारण, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले सबै अन्तर्राष्ट्रिय खेलकुद निकायलाई रुस र बेलारुसमा हुने खेल तालिका रद्द गर्न वा खेल स्थान सार्न आदेश दिएको छ । युइएफएले सेन्ट पिर्टसबर्गमा हुने तय भएको २०२१–२२ च्याम्पियन्स लिगको फाइनल पेरिस सार्ने निर्णय गरेको छ ।

यसैबीच एफएले पनि आफूहरु युक्रेनको पक्षमा रहेको बताउँदै भविष्यमा रुससँग हुने सबै खाले वहिष्कार गर्ने निर्णय गरेको हो ।

‘एफए रुसद्धारा भइरहेको अत्याचारको निन्दा गर्दै युक्रेनप्रति ऐक्यवद्ध रहेको बताउन चाहन्छ । एफए निकट भविष्यमा रुसविरुद्ध कुनै पनि अन्तराष्ट्रिय खेल नखेल्ने कुरा जानकारी गराउछ,’ एफएले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो वहिष्कारमा उमेर समूह, सिनियर टोली र हुनसक्ने सबै स्तरका खेलहरु पर्छन् ।’

यसअघि पोल्यान्ड, स्वीडेन र चेक गणतन्त्रले कतार विश्वकप छनोटको प्लेअफअन्तर्गत रुसविरुद्धको खेल वहिष्कार गर्ने निर्णय गरेका छन् ।