एन्फा राजनीतिमा प्रशिक्षकको प्रवेश, राजीनामा गर्ने विवादास्पपद घोषणा 

काठमाडौं, (खेलाडी) – अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीबीचको आरोप–प्रत्यारोप चरम उत्कर्षमा पुगिरहेको समयमा एकाएक राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्तमुताइरीको राजीनामा घोषणाले फुटबल राजनीति पुनः सतहमा आएको छ ।

पछिल्लो केही समययता एन्फाका विभिन्न कमिटीका संयोजक र सदस्यले पदबाट राजीनामा दिनुलाई एन्फाको निर्वाचन नजिकिनु नै मुख्य कारण रहेको अनुमान गरिँदै आएको थियो । यसैबीच प्रशिक्षक अल्मुताइरीको राजीनामा घोषणाले पनि ती अनुमानलाई बल पुर्‍याएको छ । 

यद्यपि अल्मुताइरीले भने आफूले एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा गरेको बताएका थिए । उनले आइतबार दिउँसो सामाजिक सन्जालमा स्ट्याट्स लेख्दै नेम्वाङको लगातारको अवरोधका कारण आफूले पद छोड्ने निर्णय गरेको र राजीनामा पत्र बुझाउन एन्फा मुख्यालय सातदोबाटो जान लागेको उल्लेख गरेका थिए ।

‘प्रिय नेपाली समर्थकहरु, म राजीनामा बुझाउन एन्फा जाँदै छु । मैले एन्फा वरिष्ठ उपाध्यक्षका कारण पदबाट राजीनामा दिन लागेको हुँ । विगत तीन हप्तायता उनले प्रत्येक दिन लगातार मेरो काममा अवरोध गरिरहेका छन् । आशा छ आज तपार्इं खुसी हुनुहुन्छ होला पंकजविक्रम नेम्वाङ,’ अल्मुताइरीले सामाजिक सन्जालमा उल्लेख गरेका छन् । 

तर वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने अत्मुताइरीले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै त्यसलाई आफूमाथिको षड्यन्त्रको संज्ञा दिए । 

‘मैले विगतदेखि नै एन्फा विधिसम्मत सञ्चालन हुनुपर्छ भन्दै आइरहेको छु । जेठ ३० मा पनि मैले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई कार्यसमिति बैठक बोलाउन माग गरेको थिएँ । केही दिनअघि मात्र पनि मसहित कार्यसमितिका ४ पदाधिकारीले पत्र लेख्दै कार्यसमिति बैठक राख्न माग गरेका थियौं,’ नेम्वाङले भने, ‘तर यो एकाएक कार्यसमितिको बैठक छल्ने उद्देश्यसहित गरिएको असफल प्रयास हो ।

अल्मुताइरीले मेरो नाम उल्लेख गर्दै मेरै कारणले पदबाट राजीनामा दिएको घोषणा गरे र राजीनामा पत्र अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाउन एन्फा मुख्यालय सातदोबाटो जान लागेको घोषणा गरे । तर एन्फामा उनको राजीनामा पुगेकै छैन । केवल सामाजिक सन्जालमा कसैमाथि मिथ्या आरोप लगाउँदैमा राजीनामा हुन्छ र ?’

नेम्वाङले सो घटना एन्फा राजनीतिसँग जोडिएको र यसरी प्रशिक्षकलाई राजनीतिमा मुछ्दा नेपाली फुटबलमा गतिलो संस्कार नबस्ने बताए । नेम्वाङले यस विषयमा एन्फाले निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न समेत माग गरे ।

यता एन्फा स्रोतका अनुसार केही दिनअघि सञ्चारकर्मीमाथि भएको दुव्र्यवहारबारे एएफसी र फिफामा अल्मुताइरीलाई कारबाहीको माग गर्दै पत्राचार गरिएको, आफ्नो प्रशिक्षण कार्यकाल नवीकरणबारे उपाध्यक्षको विरोध र आफूविरुद्ध भएका शृंखलाबद्ध घटनामा समेत उपाध्यक्षको प्रत्यक्ष समर्थन रहेको लगायतका आरोप लगाउँदै प्रशिक्षक अल्मुताइरीले राजीनामा पत्र लिएर एन्फा पुगेका थिए । तथापि उनको राजीनामा भने स्वीकृत भएन ।

एन्फा अध्यक्ष शेर्पाले भने अल्मुताइरी पदमै रहेको र उनी साफ च्याम्पियनसिपसम्म राष्ट्रिय टोलीसँगै रहने बताए ।

‘हामीले उनलाई साफ च्याम्पियनसिपका लागि केन्द्रित हुन र अन्यत्र ध्यान नदिन भनेका छौं,’ शेर्पाले भने, ‘उनी यसमा सहमत भएका छन् ।’