साफ आयोजना गर्न एन्फालाई प्रस्ताव

काठमाडौं, (खेलाडी)– दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १३औं साफ च्याम्पियनसिप आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई औपचारिक प्रस्ताव गरेको एन्फाले बताएको छ । 

साफका महासचिव अनवारूल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ आयोजनाको औपचारिक प्रस्ताव गरेको एन्फाले जनाएको हो । महासचिव तुलाधरले साफ आयोजनाका लागि नेपालले विस्तृत प्रस्ताव तयार गरी अनुमोदनका लागि साफलाई पठाउने बताएका छन् । 

प्रस्ताव पठाएसँगै आयोजनाका लागि अगस्ट पहिलो साता बस्ने कार्यकारी बैठकबाट निर्णय हुनेछ । यसअघि जुलाई २३ मा सदस्य राष्ट्रबीच साफ च्याम्पियनसिप आयोजना गर्ने विषयमा भर्चुअल बैठक भएको थियो । बंगलादेशले कोरोना महामारीलाई कारण देखाउँदै प्रतियोगिता आयोजना गर्न नसक्ने बताएको थियो र नेपालले आयोजनाका लागि प्रस्ताव गरेको थियो । औपचारिक प्रस्ताव एन्फालाई आएसँगै ६ दिनभित्र निर्णय हुने एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । 

‘प्रस्ताव आएको छ । नेपाल आयोजनाका लागि आतुर पनि छ । सरकारले आयोजनाका लागि सहयोग गर्ने जनाएको छ,’ एन्फा अध्यक्ष शेर्पाले भने, ‘नेपालले आयोजना गर्ने या नगर्ने ६ दिनभित्र निर्णय हुन्छ ।’

साफ च्याम्पियनसिप अहिलेसम्म नेपालमा दुई पटक भएको छ । पहिलो पटक १९९७ मा भएको थियो भने २०१३ मा दोस्रो पटक आयोजना गरेको थियो । साफ च्याम्पियनसिपमा भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ भने नेपाल कुनै पनि संस्करणको फाइनलमा पुगेको छैन ।