गौरीमान राई

फुटबलमा गौरवान्वित गौरीमान

फुटबल के हो ?

‘फुटबल भनेको एउटा खेल हो ।’ उत्तर सजिलो छ ।

अझ फुलबुट्टा भर्ने हो भने ‘फुटबल भनेको विश्वकै सबैभन्दा लोकप्रिय एउटा सुन्दर खेल हो’ भन्न सकिएला । वा अरू धेरै फुर्का गाँस्न पनि गाह्रो छैन ।

दार्शनिकहरूले खोज्ने फुटबलको अर्थ अझ फराकिलो हुन्छ, ‘फुटबल भनेको पक्कै पनि एउटा खेल हो । तर यसको परिचय एउटा खेलभन्दा धेरै बढी छ । फुटबल मनोरञ्जन हो । फुटबल शिक्षा हो । फुटबल भाइचारा हो । फुटबल एकता र मित्रताको पर्याय हो । फुटबल संस्कार हो । फुटबल उद्योग हो ।’

फुटबलको बहुआयामिक परिचयमा अरू पनि थुप्रै विशेषता थप्न सकिन्छ । जस्तै फुटबल नशा हो । हो, फुटबल एउटा यस्तो नशा हो, जसको प्रभाव खेल्नेभन्दा खेलाउनेलाई बढी हुने गर्छ । अनि खेलाउनेभन्दा हेर्नेलाई यसको नशाले झन लट्ठ पार्छ ।

फुटबलको बहुआयामिक परिचयमा अरू पनि थुप्रै विशेषता थप्न सकिन्छ । जस्तै फुटबल नशा हो । हो, फुटबल एउटा यस्तो नशा हो, जसको प्रभाव खेल्नेभन्दा खेलाउनेलाई बढी हुने गर्छ । अनि खेलाउनेभन्दा हेर्नेलाई यसको नशाले झन लट्ठ पार्छ ।

दशरथ रंगशालामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका जनरल को-अर्डिनेटर गौरीमान राईलाई हेर्ने हो भने ढुक्कसँग भन्न सकिन्छ, ‘फुटबल साँच्चिकै एउटा कडा नशा हो अनि गौरीमान फुटबल एडिक्ट ।’

पूर्वी नेपालको दुर्गम जिल्ला संखुवासभामा फुटबल सुरु गर्ने जस गौरीमानमै जान्छ । पहाडी भेगमा फुटबल सुरु गर्नेमात्र नभई गौरीमान र उनका साथीहरूले यो सुन्दर खेललाई लोकप्रिताको हदसम्म पुर्याए । गौरीमानहरूकै निरन्तर मिहिनेतका कारण केही दशकअघिसम्म नखेलिने यो खेल अहिले संखुवासभाको संस्कार बनिसकेको छ ।

‘आठ वर्षको हुँदा बाजे (हजुरबुबा)ले हामीलाई पढाउन मधेश (झापा) झार्नुभएको थियो । मेरो बाल्यकाल झापामै बितेको हो । झापा झरेपछि त्यहाँको माहोलले फुटबलसँग मेरो साइनो जुरायो । सुरुमा स्कुलको मैदानमा हामी साना विद्यार्थीले खेल्न नपाउने, कमला खोलाको बगरमा मोजाको बल बनाएर खेल्थ्यौं । किताब चाङ लगाएर पोस्ट बनाएर खेल्थ्यौं,’ गौरीमानले बाल्यकाल सम्झिए ।

गौरीमान ८ कक्षामा पुग्दा गाउँमा नापी आयो । आफ्ना जमिन नापजाँच गराउनका लागि बाजे पहाड फर्किनुपर्ने भयो । गौरीमानको अध्ययन पनि त्यसपछि झापाको धरमपुरबाट गाउँमै सर्यो ।

‘नापी आएपछि हामी गाउँ फर्किनुपर्यो । नापी गर्न डेढ वर्ष लाग्यो । गाउँमा मानिसहरू फुटबल खेल्दैनथे । मैले नै साथीहरू भेला पारेर मोजाको बल बनाएर खेल्न सुरु गरेको हुँ,’ गौरीमान स्कुले जीवनमा फर्किए, ‘स्कुलमा सरहरूले पनि सहयोग गर्नुभयो । हामीलाई खेल्न सरहरूले प्रेरणा नदिएको भए गाउँमा फुटबल खेल्न सहज हुँदैनथ्यो । त्यसपछि केही वर्षमै टोल–टोलमा खेल्न थालियो । फुटबल विस्तारै फैलिँदै गयो । त्यसैबाट उत्साही भएर हामीले २०५० दशकको पूर्वार्द्धमा संखुवासभामा प्रतियोगिता गर्ने आँट गरेका थियौं ।’

भरत घिमिरेको अध्यक्षतामा स्थापना भएको जिल्ला फुटबल संघमा गौरीमान उपाध्यक्ष थिए । १० वर्ष उपाध्यक्षका रूपमा काम गरेपछि गौरीमान केन्द्रको लिगमा समर्पित भएका छन् । आफ्नै खर्चमा सन् २०१८ को रुस विश्वकप हेर्ने सुनौलो मौका छोपेर फर्किएपछि उनले जिल्लामा अरू साथीलाई अवसर दिने सोचसहित उपाध्यक्षको पद त्याग गरेका थिए ।

मोजाको बलबाट सुरु गरेका गौरीमानको फुटबल सक्रियताकै कारण अहिले संखुवासभामा जिल्ला फुटबल संघ स्थापना भएको १२ वर्ष भइसक्यो । जिल्लामै तीन/चार हजार दर्शक क्षमताको रंगशाला तयार भएको छ । स्थानीय एडभान्स क्लबको आयोजनामा हजारौं दर्शकलाई दैनिक रंगशाला निम्त्याउने फुटबल प्रतियोगिता मानेभञ्ज्याङ रनिङ सिल्डले पनि १४ संस्करण पूरा गरिसकेको छ ।

भरत घिमिरेको अध्यक्षतामा स्थापना भएको जिल्ला फुटबल संघमा गौरीमान उपाध्यक्ष थिए । १० वर्ष उपाध्यक्षका रूपमा काम गरेपछि गौरीमान केन्द्रको लिगमा समर्पित भएका छन् । आफ्नै खर्चमा सन् २०१८ को रुस विश्वकप हेर्ने सुनौलो मौका छोपेर फर्किएपछि उनले जिल्लामा अरू साथीलाई अवसर दिने सोचसहित उपाध्यक्षको पद त्याग गरेका थिए ।

‘पदमा नभए पनि जिल्लाको फुटबलमा संलग्नता उस्तै हो । तर विश्वकप हेरेर फर्किएपछि जिल्लामा अरू साथीहरूको पनि नेतृत्व विकास गर्नुपर्छ भनेर मैले उपाध्यक्ष पद छोडेर लिगमा केन्द्रित भएको हुँ,’ गौरीमान भन्छन्, ‘जिल्लामा साथीहरूले राम्रो काम गरिरहेका छन् । केन्द्रबाट मैले समन्वय गरिरहेको छु । मैले पनि म्याच कमिस्नरको तालिम गरेपछि २०७५ को पूरा लिगमा सिक्ने काम गरें । अहिले काम इन्जोय गरिरहेको छु ।’

काठमाडौंको मैतीदेवीमा ओसिन फिटनेस क्लब नामको जिमखाना सञ्चालन गर्ने गौरीमान रियल स्टेट व्यवसायका साथै रुद्राक्ष, अलैंची, सुन्तला र टिमुर खेतीमा पनि संलग्न छन् । तर, फुटबलमा एकोहोरिएपछि भने उनले सबै व्यवसायमा समय दिन भ्याइरहेका छैनन् । व्यवसाय सहयोगीहरूलाई जिम्मा लगाएका छन् । आफू चाहिँ कमाइ नहुने फुटबलमा एकोहोरिएका छन् ।

फिटनेसलाई मात्र समय दिन सके दैनिक १० हजार कमाइ हुने उनी बताउँछन् । तर फुटबल नशाले गर्दा उनले फिटनेसमा समय दिन पाएका छैनन् । आफै दैनिक तीन घण्टा जीम नगरी नहुने बानीका कारण बिहान ६ बजे उनी नियमित क्लब पुग्छन् । त्यसपछि सिधै एन्फा मुख्यालय पुग्ने गरेका गौरीमान साँझ बन्द गर्ने बेला ८ बजेतिरमात्र क्लब पुग्छन् । त्यसले गर्दा अरू व्यवसाय त डामाडोल नै छ ।

त्यसो त गौरीमान ‘मनी माइन्डेड’ मानिस होइनन् । काठमाडौंको भीमसेनगोलामा ठूलो चारतले घर भएका गौरीमानको संखुवासभा मानेभञ्ज्याङ बजारमा पनि दुई वटा घर छ । दुई वर्षअघि कोभिड-१९ को विश्वव्यापी महामारी सुरु भएर नेपालमा पनि लकडाउन हुँदा उनले आफ्ना घरमा बस्नेसँग भाडा नलिने घोषणा गरे । अरू कसैले नगरेका बेला सुरुमै मनकारी गौरीमानले यस्तो घोषणा गरेर धेरै घरभेटीलाई महामारीको समयमा उदार बन्न प्रेरित गरेका थिए । त्यही भएर होला उनले फेसबुकमा लेखेको स्ट्याटस सयौंले धन्यवादसहित सेयर गरेका थिए ।

गौरीमानले २०७५ सालमा म्याच कमिस्नरको तालिम लिए । एन्फाको लिग कमिटीका सदस्य गौरीमान त्यसयता निरन्तर म्याच कमिस्नर, जनरल को-अर्डिनेटर वा अरू विभिन्न भूमिकामा फुटबल प्रतियोगिता सञ्चालनमा व्यस्त छन् ।

खेल्नेभन्दा खेलाउनेलाई बढी लाग्ने यो नशाले लट्ठ पारेका कारण गौरीमान परिवारभन्दा टाढा छन् । आफ्नै व्यवसाय व्यवस्थापनमा पनि आवश्यक समय छुट्याउन सकेका छैनन् । सहयोगीहरूमार्फत व्यवसायलाई जसोतसो व्यवस्थापन गरिरहेका गौरीमानलाई पारिवारिक विछोडले भने पिरोलिरहन्छ ।

‘श्रीमती अमेरिकामा छिन् । परिवारका अरू सदस्य पनि बेलायत, हङकङ र सिंगापुरमा छन् । आफू यहाँ एक्लो हुँदा मन सधैं नियास्रिइरहन्छ । श्रीमती र परिवारको यादले सताइरहन्छ,’ गौरीमान भावुक भए ।

संखुवासभाको खेलकुदका लागि त उनी एउटा नियमित सहयोगी खम्बा हुन् । गोजुरियो कराते डोका केन्द्रीय सदस्य तथा संखुवासभा जिल्ला अध्यक्ष भएको नाताले मार्सल आर्टसमा पनि उनको दायित्व छ । बेलाबखत जिल्लामै प्रतियोगिता गराएर अनि नियमित रूपमा प्रशिक्षणको व्यवस्था मिलाएर उनले त्यो दायित्व पूरा गरिरहेका छन् । जिल्लामा फुटबल संघ स्थापना हुनुअघि नै सुरु भएको मानेभञ्ज्याङ रनिङ सिल्डका साथै अन्य साना फुटबल प्रतिस्पर्धाहरूका लागि नेट, जर्सी, मेडल र बलको व्यवस्थापन गरिदिने जिम्मेवारी उनकै काँधमा छ ।

त्यसो त गौरीमानलाई फुटबलको नशाले मात्र लट्ठ्याएको छैन । खेलकुद भन्ने शब्दबाटै हुरुक्क हुने उनको समर्पण सबै खेलमा उत्तिकै छ ।

संखुवासभाको खेलकुदका लागि त उनी एउटा नियमित सहयोगी खम्बा हुन् । गोजुरियो कराते डोका केन्द्रीय सदस्य तथा संखुवासभा जिल्ला अध्यक्ष भएको नाताले मार्सल आर्टसमा पनि उनको दायित्व छ । बेलाबखत जिल्लामै प्रतियोगिता गराएर अनि नियमित रूपमा प्रशिक्षणको व्यवस्था मिलाएर उनले त्यो दायित्व पूरा गरिरहेका छन् । जिल्लामा फुटबल संघ स्थापना हुनुअघि नै सुरु भएको मानेभञ्ज्याङ रनिङ सिल्डका साथै अन्य साना फुटबल प्रतिस्पर्धाहरूका लागि नेट, जर्सी, मेडल र बलको व्यवस्थापन गरिदिने जिम्मेवारी उनकै काँधमा छ ।

संखुवासभामा सही अर्थमा फुटबल संस्कार बसाल्न सफल मानेभञ्ज्याङ रनिङ सिल्ड २०६४ मा सुरु भएको थियो । त्यतिबेला गौरीमान काठमाडौं आइसकेका थिए । तर प्रतियोगिता सुरु गर्नमा उनको नेतृत्वदायी भूमिका थियो । प्रतियोगिताको आयोजक एडभान्स क्लबको काठमाडौं शाखा एडभान्स काठमाडौंका अध्यक्ष भएको नाताले पनि उनको भूमिका महत्त्वपूर्ण हुने नै भयो ।

त्यसअघि किशोरावस्थामै गौरीमान र उनका साथीहरूले मानेभञ्ज्याङमा एउटा स्थानीय स्तरको प्रतियोगिता गरेर ठूलो प्रतियोगिताको आधार बनाइसकेका थिए । ‘२०५०/५१ सालतिरको कुरा हो । हामीले चिठा राखेर, बजारबाट सहयोग जुटाएर दुई/चार हजार रुपैयाँ जम्मा पारेर पुरस्कार राशिसहितको एउटा प्रतियोगिता गरेका थियौं । त्यसमा स्थानीयको ठूलो चासो र उत्साह देखिएको थियो,’ गौरीमान सम्झन्छन् ।

खेलकुद, अझ फुटबल गौरीमानका लागि यस्तो विषय हो, जसको नशामा रहँदा उनी सबै पीडा भुल्छन् । बिहान ६ बजे आफ्नै फिटनेसमा व्यायाम गर्दै सुरु हुने तालिका दिनभर खेलमय बन्छ । जिम सक्नेबित्तिकै एन्फा हानिएपछि साँझ अबेरसम्म फुटबलमा रम्छन् । ८ बजे फिटनेस बन्द गरेर घर फर्किएपछि भने एकान्तपनले उनलाई सताउन थाल्छ । त्यसैले त उनी पूरा रात बिस्तारामा हुँदा पनि बिहान हुने व्यग्र प्रतीक्षामा हुन्छन् ।

‘परिवार सँगै नभएकाले पनि होला, खेलकुदप्रतिको लगाव अलि बढी नै भएको । तीन घण्टा व्यायाम गरेन भने मलाई दिनभर नै के नपुगे, के नपुगेजस्तो हुन्छ । राति सुत्दा पनि कहिले बिहान होला जस्तोमात्र लागिरहन्छ,’ गौरीमान व्यग्र हुन्छन् ।

दशरथ रंगशालामा जारी शीर्ष डिभिजनको सहिद स्मारक लिगमा अचेल उनी व्यस्त छन् । त्यसैले धेरै सोच्न भ्याउँदैनन् । तर, भविष्यको सोचाइ के त ?

‘परिवार मेरो पहिलो दायित्व हो । पारिवारिक आवश्यकताअनुसार काम गर्नुपर्छ । त्यसवाहेक खेलकुद र फुटबल त अन्तिम सास लिँदासम्म पनि मेरो जीवनको अभिन्न पाटो हुनेछ । आफ्नो बलबुताले भ्याएसम्म संखुवासभाको खेलकुद र नेपाली फुटबलको श्रीवृद्धिमा योगदान गरिरहने छु,’ जवाफ दिन गौरीमानले एक सेकेन्ड पनि सोचेनन् ।