नेपाली फुटबल

प्रधानमन्त्री र प्रशिक्षक अलमुताइरीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकबीचको भेटवार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्री देउवाले प्रशिक्षक अब्दुल्ला अलमुताइरीसँगै टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायसँग नेपाली फुटबलको विविध पक्षबारे छलफल गरेको हुन् । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुद मन्त्रालय र नेपाल सरकार फुटबल विकासको लागि सहयोग गर्न सधै तयार रहेको बताएको व्यवस्थापक उपाध्यायले खेलाडीलाई जानकारी दिए ।

‘प्रधानमन्त्री ज्युले सम्मान कार्यक्रम राख्नु भएको थियो । उहाँले नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेको र अझ एक्सपोजरका लागि मैत्रीपूर्ण खेलहरु आयोजना गर्नुपर्ने बताए । मन्त्रालय र नेपाल सरकारले फुटबल विकासका लागि सहयोग गर्न सधै तयार रहेको बताउनु भयो,’ उपाध्यायले भने ।

कार्यक्रममा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) पनि उपस्थित थिए ।

गत अक्टोबरमा माल्दिभसमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको थियो । सोही अवसरमा नेपाली राष्ट्रिय टोलीलाई सरकारले सम्मान गर्दा प्रशिक्षक अल्मुताइरी भने कुवेत गएका कारण अनुपस्थित भएका थिए ।

नेपाली राष्ट्रिय टोलीले माेरिससविरूद्ध माघ १५ र १८ गते मैत्रीपूर्ण खेल खेलेको थियो । दुबै खेलमा नेपाल विजयी भएको थियो । घरेलु मैदानमा नेपालले अल्मुलाइरीको प्रशिक्षणमा पहिलो जीत हात पारेको थियो ।