अफ्रिका कप अफ नेसन्स

सेनेगल र मोरक्को क्वार्टरफाइनलमा

याउन्डे । साडियो मानेको गोलप्रेरित सेनेगल मंगलबार नौ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको केप भार्डीलाई २-० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

अफ्रिका कप अफ नेसन्समा यी दुई टोली आमने सामने भएको यो पहिलो पटक हो । २१औं मिनेटमा पापे गिएमाथि फाउल गरेको भन्दै प्याट्रिक एन्ड्राडे रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि केप भार्डी १० खेलाडीमा सीमित भएको थियो ।

तेस्रो स्थानमा बस्ने टोली मध्ये उत्कृष्ट भित्र पर्दै अन्तिम १६ मा छनोट भएको केप भार्डीको सन् २०१३ पछि अफ्रिका कप अफ नेसन्सको क्वार्टारफाइनल प्रवेश गर्ने लक्ष्यले पूर्णता पाएन ।

५७औं मिनेटमा गोलकिपर भुजिन्हाले रातो कार्डको दर्शन गरेपछि केप भार्डी नौ खेलाडीमा सीमित भएको थियो । माने माथि फाउल गरेपछि भुजिन्हाले रातो कार्डको दर्शन गरेका थिए । मानेको टाउकोमा चोट लागेको थियो । 

६३औं मिनेटमा मानेले सेनेगलका लागि गोल खाता खोले । 

चोटका कारण ७०औं मिनेटमा मैदानबाट बाहिर आएका मानेलाई अस्पताल पुर्याइएको थियो । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

इन्जुरी समयको दोस्रो मिनेटमा बाम्बा डेइङले सेनेगलको अग्रता दोब्बर पारे ।

सेनेगलले आइतबार क्वार्टरफाइनलमा इकोटोरियल गिनीको सामना गर्नेछ ।

त्यस्तै मोरक्कोले मलावीलाई २-१ ले पराजित गर्र्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।