अफ्रिका कप अफ नेसन्स

कामोरोसको दुर्भाग्य, क्यामरुन र जाम्बिया क्वार्टरफाइनलमा

याउन्डे । रक्षक चखार अल्कहादुरले कामोरोसको गोलपोस्ट सम्हालेको खेलमा  २-१ को जितसहित आयोजक क्यामरुन सोमबार अफ्रिका कप अफ नेसन्सको अन्तिम क्वार्टरफाइनल प्रवेश गरेको छ । 

समूह चरणको अन्तिम खेलमा घानालाई निराश पारेको कामोरोसका गोलकिपर सहित अन्य केही खेलाडीमा कोभिड १९ संक्रमण पुष्टी भएपछि टोलीको अर्कोे सफलता हात पार्ने लक्ष्यमा पूर्णविराम लाग्यो ।

पहिलो रोजाईका गोलकिपर सलिम बेन बोइया चोटका कारण टोलीमा थिएनन् । वैकल्पिक गोलकिपरहरु अली अहमादा र मोयद औसेनीमा कोभिड १९ संक्रमण पुष्टी भएपछि रक्षक अल्कहादुरले कामोरोसको पोस्ट सम्हालेका थिए । 

सातौ मिनेटमा कप्तान नाड्जिम अब्डोउ रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि कामोरोस झन् संकटमा परेको थियो ।

२९औं मिनेटमा कार्ल टोको इकाम्बीले गरेको गोलमा क्यामरुनले अग्रता लियो । ७०औं मिनेटमा  कप्तान भिसेन्ट अवोबकारले क्यामरुनको अग्रता दोब्बर पारेका थिए । जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेका अवोबकारको यो छैटौं गोल हो ।

खेल सकिने नौ मिनेट बाँकी रहँदा योसुफ एम चाङगामाको फ्रि-किक गोलमा कामरोसले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन । 

क्यामरुनले सेमिफाइनल प्रवेशका लागि जाम्बियाको सामना गर्नेछ । जाम्बियाले गिनीलाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।