आहा रारा गोल्डकप

लिग लिडर मछिन्द्र सेमिफाइनलमा

पोखरा । साविक विजेता संकटा क्लबलाई ४–१ ले पराजित गर्दै पोखरामा जारी २०औं आहा रारा गोल्डकपमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष टोली मछिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मछिन्द्रको जितमा मेसुके ओलोमेउले दुई, अभिषेक गुरुङ र उत्सभ राईले एक एक गोल गरे । लिगमा न्युराेड टिमबाट खेलिरहेका ओलोमेउलाई मछिन्द्रले आहा राराकै लागि टाेलीमा अनुबन्ध गरेकाे हाे ।

पोखरा रंगशालामा सम्पन्न खेलमा उत्सभले १३औं मिनेटमा गरेको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । उत्सभले १८ यार्ड बक्स बाहिरबाट गरेको लामो प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले रोक्न सकेनन् ।

दोस्रो हाफको दोस्रो मिनेटमै मछिन्द्रले अग्रता दोब्बर बनायो । क्यामरुनका मेसुके ओलोमोउले काउन्टर अट्याकमा गोल गरे । मेसुकेले अभिषेक रिजालले दायाँतर्फबाट उपलब्ध गराएको पासमा संकटाका चार डिफेन्डरलाई मात दिँदै उत्कृष्ट ‘लेफ्ट फुटेड’ गोल गरे । त्यसअघि अभिषेकलाई मैदानको मध्य भागबाट नाथानियल गार्सियाले बल दिएका थिए ।

खेलको ६४औं मिनेटमा गणेश हमालले गरेको गोलबाट संकटाले अग्रता २–१ मा झार्यो । अमित तामाङले प्रहार गरेको कर्नरलाई बक्स भित्रबाट निरज बस्नेतले हेडमार्फत पास मिलाएपछि गणेशले सोहि बललाई हेड मार्फत जाली चुमाए ।

तर, खेल सकिन पाँच मिनेट बाँकी रहँदा मछिन्द्रले दुई गोल गरेपछि साविक विजेता पहिलो खेलमै स्तब्ध बन्यो ।

८५औं मिनेटमा ओमोलाजा लुरेन करिनले प्रहार गरेको फ्रिकिक रिबाउन्डमा अभिषेक गुरुङले गोल गरे ।

लगत्तै अर्को मिनेटमा गार्सियाले उपलब्ध गराएको पासमा ओलोमेउले बक्सभित्रबाट सहजै गोल गरेपछि मछिन्द्रले ४–१ को सहज जित निश्चित गर्यो ।

मछिन्द्रले सेमिफाइलनमा विभागीय टोली एपिएफ फुटबल क्लबको सामना गर्नेछ ।