इङ्लिस प्रिमियर लिग

रुडिगर स्टामफोर्ड ब्रिजमै प्रतिबद्ध

लन्डन । एन्टोनी रुडिगरले यसै सिजनपछि चेल्सीसँगको सम्झौता अन्त्य हुने भए पनिआफू क्लबप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन् ।

रुडिगरलाई अनुबन्धन गर्न स्पेनिस ला लिगाको क्लब बार्सिलोना र रियाल मड्रिडका साथै जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखले इच्छा देखाउँदै आएका छन् । 

रुडिगरले चेल्सीको सम्झौता नविकरण प्रस्ताव अस्विकार गर्दै आएका छन् । उनले आफ्नो सम्झौता रकम बढाउनु पर्ने बताउँदै आएका छन् । सम्झौता रकममा सहमती भएमा उनी इङ्लिस प्रिमियर लिगकै सर्वाधिक महंगो रक्षक बन्नेछन् ।

‘म अझै क्लबमा पूर्णरुपमा प्रतिबद्ध छु,’ रुडिगरले भने, ‘अहिले पनि क्लब र मेरो बिचमा सम्झौता नविकरणका लागि छलफल जारी छ । ’
रुडिगरले आफ्नो सम्झैता थप हुने वा नहुने निश्चित नभए पनि त्यसले आफ्नो प्रदर्शनमा कुनै असर नगर्ने बताए । 

‘मेरो प्रदर्शनमा कुनै कमी आएको छैन’, रुडिगरले भने, ‘म मेरो स्वभाविक खेलमा प्रतिबद्ध छु ।’

सन् २०१७ मा एएस रोमाबाट चेल्सीमा अनुबन्धन भएका रुडिगरले चेल्सीबाट एक सय ७९ खेल खेलिसकेका छन् । 

रुडिगरले चेल्सीमा चार उपाधि जितिसकेका छन् । त्यस क्रममा उनले गत वर्ष  च्याम्पियन्स लिग र युइएफए कप जितिसकेका छन् ।