इङ्लिस प्रिमियर लिग

नर्विचको सहज जित

लन्डन । वाट्फोर्डलाई शुक्रबार ३-० ले पराजित गर्दै नर्विच सिटी इङ्लिस प्रिमियर लिगको रेलिगेशन क्षेत्रबाट माथि उठेको छ ।

नर्विचको सहज जितमा जस  सार्जेन्टले दुई गोल गर्दा वाट्फोर्डका जुराज कुक्काले आत्मघाती एक गोल गरे । नर्विचको यो लगातार दोस्रो जित हो । गत साता नर्विचले एभर्टनलाई निराश पारेको थियो । 

प्रिमियर लिगको पछिल्लो १३ खेलमा १० खेल गुमाएपछि वाट्फोर्ड रेलिगशेनको क्षेत्रमा झरेको छ ।  नर्विच २२ खेलमा १६ अंकसहित १७औं स्थानमा उक्लिएको छ । वाट्फोर्ड समान खेलमा १४ अंकसहित १८औं स्थानमा झरेको छ । 

५१औं मिनेटमा सार्जेन्टले गरेको गोलमा नर्विचले अग्रता लिएको थियो । ७७औं मिनेटमा सार्जेन्टले नर्विचको अग्रता दोब्बर पारेका थिए । 

इन्जुरी समयको दोस्रो मिनेटमा वाट्फोर्डका कुक्काले आत्मघाती गोल गर्दा नर्विचले ३-० को सहज जित पक्का गरेको थियो । 

‘यो हाम्रो लागि ठूलो जित हो, टोलीको जितमा दुई गोल गर्दा म खुशी छु’, सार्जेन्टले भने, हामी अझै रेलिगेशनको खतरामै छौ, त्यसैले अब हाम्रा लागि सबै खेल निकै महत्वपूर्ण हुनेछ ।'