पोखरा

फुटबलको शहर पोखरा

तस्बिर: सुदर्शन रन्जित ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले दुई साता अघि नेपालले यसै महिना अफ्रिकी मुलुक मोरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने घोषणा गर्यो ।

दशरथ रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेको थियो । एउटै रंगशालाले लिगका ६० खेल आयोजना गर्दा मैदानको अवस्था दयनीय हुने पक्का थियो । फिफाको अन्तर्राष्ट्रिय ब्रेक दौरान राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेले पनि घरेलु लिग गराउने एउटै रंगशालालाई त्यो समय आरामका लागि उपयुक्त हुन्थ्यो । लामो लिगले पारेका खाल्डाखुल्डी पुरेर मरेका झार पलाउने समय दिन फिफा ब्रेक ठिक थियो ।

त्यसैले सुरुमा माघ १५ र १७ गतेका लागि तय भएका दुई मैत्रीपूर्ण खेल खेलाउनका लागि दशरथ रंगशालाको विकल्प सोच्यो । विकल्प सोच्दा क्षणभरको समय पनि नलिइकन एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, ‘हामी मोरिससविरुद्धका दुई मैत्रीपूर्ण खेल पोखरा रंगशालामा खेलाउँछौं ।’

मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमात्र होइन, अन्य अन्तर्राष्ट्रिय खेल र प्रतियोगिताका लागि पनि काठमाडौंपछि पोखरा पहिलो रोजाई बन्ने गरेको छ । यसअघि पनि पाकिस्तान र भुटानविरुद्धका अन्तर्राष्ट्रिय खेल शृंखला पोखरा रंगशालाले आयोजना गरिसकेको छ ।

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण दुई वर्षअघि हुँदा महिला फुटबलका प्रतिस्पर्धा पोखरा रंगशालामै गराइएको थियो । पछिल्लो समय एन्फाले मोरिससविरुद्धको मैत्रीपूर्ण खेलको शृंखला दशरथ रंगशालामै गराउने निर्णय गरिसकेको छ । यो बेग्लै कुरा हो, तर नेपाली फुटबलको सर्वोच्च निकायले काठमाडौंको विकल्पका रुपमा लिने पहिलो नाम भने पोखरा नै हो ।

घरेलु प्रतियोगिताको हकमा समेत एन्फाले यसअघि राष्ट्रिय लिग गर्न पोखरा रंगशाला रोजेर यसको प्रमाण दिइसकेको छ ।

सहारा क्लबले दुई दशकअघि सुरु गरेको फुटबल अभियान आहारारा गोल्डकपका नाममा झांगिँदा पोखरा फुटबलको सहरका रुपमा स्थापित भइसकेको छ । त्यही कारण हो एन्फा र राष्ट्रिय खेलकुद परिषदमात्र होइन नेपाली फुटबलमा जोकोहीले काठमाडौंको विकल्प खोज्दा सम्झने पहिलो नाम पोखरा बन्न थालेको ।

सहारा क्लबले गर्ने नेपाली फुटबलको सबभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता आहारारा गोल्डकपले पोखरेली फुटबलमा माहोल बनाउन थालेको २० वर्ष भइसक्यो ।

पोखराको पर्यायका रुपमा स्थापित आहाराराले सुन्दर पर्यटकीय नगरीको फुटबल पहिचानमा ठूलो योगदान गरे पनि त्यसमा अरु थुप्रै प्रतियोगिता र गतिविधिले साथ दिइरहेका छन् ।

पोखरेली फुटबल क्रेजले थेग्छ भनेरै केही वर्षअघि अखिल नेपाल फुटबल संघकै सक्रियतामा पोखरा गोल्डकप सुरु भयो । पछिल्लो समय निरन्तर नभए पनि यसले पोखराको फुटबल सम्भावनालाई भने उजागर गरेकै हो ।

पोखराको त्यो अपार सम्भावनामा अर्को इट्टा थपेको छ, घरेलु फुटबलको महारथी मनाङ मर्स्याङ्दी क्लबले । मनाङले पोखरा रंगशालालाई आफ्नो घरेलु मैदानका रुपमा प्रयोग गर्ने सम्झौता गरिसकेको छ । त्यही कारण जारी ए डिभिजन लिगका तीन खेल पोखरा रंगशालाले आयोजना गरिसकेको छ ।  

मनाङले पुस ३ गते नेपाल पुलिस क्लब, पुस १७ गते ब्रिगेड ब्वाइज क्लब र पुस २४ गते च्यासल युथ क्लबविरुद्ध लिगका तीन खेल पोखरा रंगशालामा खेलेको थियो । तीन वटै खेलमा मनाङले शतप्रतिशत नतिजा ल्याएको थियो ।

सहिद स्मारक लिगमा निर्देशकको भूमिका निर्वाह गरिरहेका फुटबलविज्ञ सञ्जीव मिश्र धेरै अघिदेखि पोखरा नेपाली फुटबलको दोस्रो घरका रुपमा रहेको बताउँछन् ।

‘नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय वा घरेलु फुटबल प्रतियोगिताका लागि त्रिपुरेश्वरको दशरथ रंगशाला निर्विवाद रुपमा पहिलो रोजाई हो । तर पोखरा हाम्रा लागि अर्को त्यतिकै भरपर्दो विकल्प हो,’ पोखराको फुटबल क्रेजको प्रशंसामा मिश्र भन्छन्, ‘त्यहाँको वातावरण र पोखरेली समर्थकको फुटबल प्रतिको मायाले पनि त्यहाँ अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्न पाइयो भने त्यसले छुट्टै सन्देश दिन्छ ।’

पोखरामा आहारारा गोल्डकप २० वर्षदेखि निरन्तर सफलताका साथ आयोजना हुनुको रहस्य नै त्यहाँको फुटबल संस्कार भएको बताउँदै मिश्र थप्छन्, ‘पोखरेलीहरु फुटबललाई असाध्यै माया गर्छन । आहारारा गोल्डकप यसको प्रमाण हो । आहाराराले बलियो जग बसाएका कारण एन्फाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिका साथै राष्ट्रिय टिमका बन्द प्रशिक्षण सिविर पनि त्यहाँ लान सक्ने वातावरण बनेको हो । मनाङलाई पोखरा रंगशालालाई घरेलु मैदानका रुपमा प्रयोग गर्ने प्रेरणा पनि आहाराराले बसाएकै जगबाट प्राप्त भएको छ ।’

पोखरा किन नेपाली फुटबलको नयाँ गन्तब्य बन्दैछ त ?

जानकारहरु भन्छन्, ‘त्यहाँ अभ्यासका लागि सुविधा सम्पन्न मैदान छ । बसोबासका लागि पर्याप्त मात्रामा राम्रा होटल छन् । प्राकृतिक रुपमा सहर सुन्दर छ । तालहरुको सहरमा हिमाल आफूसँगै अंगालो मारौंलाजसरी टल्कन्छ । जस्तोसुकै खेल किन नहोस, रंगशालाका प्यारापिट दर्शकले खचाखच हुन्छ ।’

नहोस पनि किन त । पोखरामा फुटबल संस्कार काठमाडौंबाट गएको नै होइन । काठमाडौंसँगै वा त्यसभन्दा पहिलादेखि नै पोखरामा फुटबल खेलको जग बस्न थालेको थियो ।

बेलायती र भारतीय सेनामा भर्ति गएका लाहुरेहरुले दोस्रो विश्वयुद्धको समाप्तीसँगै पोखरामा फुटबल भित्र्याएको पाका खेलकर्मीहरु सम्झन्छन् । तिनै लाहुरेले भित्र्याएको संस्कारमा हुर्किँदै गर्दा नेपाली राष्ट्रिय टिमले पहिलो पुश्तामै कृष्ण थापा र डम्बर गुरुङजस्ता स्टार पाएको थियो ।

थापा र गुरुङपछि पनि पोखराले वशन्त गौचन, विषन गौचन, अनिल गुरुङ र अजित भण्डारीहरुले पोखरेली बिरासत थाम्दै आएका छन् । सहारा एकेडेमीको अभियान यो बिरासतलाई अनन्त कालसम्म लम्ब्याउन प्रयत्नसिल छ ।