अफ्रिका कप अफ नेसन्स

घानाको यात्रा समूह चरणमा सीमित

याउन्डे । कामोरोससँग ३-२ ले स्तब्ध भएपछि घानाको अफ्रिका कप अफ नेसन्सको यात्रा समूह चरणमा सीमित भएको छ ।

कामोरोसमाथि जित हात पारेको भए घाना तेस्रो स्थानको टोली मध्ये उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गर्ने थियो । 

तर अहमेद मोग्नीको दुई गोलमा कामोरोसले अफ्रिका कप अफ नेसन्सको समूह ‘सी’ मा पहिलो जित दर्ता गर्दा चार पटकको विजेता घानाको यात्रा समूह चरणमा सीमित भएको हो । 

समूह ‘सी’ मा मोरक्को तीन खेलमा सात अंकसहित समूह विजेता बन्दा समान खेलमा पाँच अंक बटुलेको गाबोन उपविजेताका रुपको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । कामोसोस तीन अंक जोड्दै तेस्रो स्थानमा बस्दा घाना एक अंकसहित चौथो स्थानमा रह्यो ।

चौथो मिनेटमा एल फार्दो बेन नावौहानेले गरेको गोलमा कामोरोसले अग्रता लिएको थियो । २६औं मिनेटमा कप्तान आन्द्रे एयु रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि घानाले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

६२औं मिनेटमा मोग्नीले कामोरोसको अग्रता दोब्बर पारेका थिए । ६४औं मिनेटमा रिचमोन्ड र ७७औं मिनेटमा डिजकुको गोलमा घाना खेलमा फर्किएको थियो ।

तर खेल सकिन पाँच मिनेट बाँकी हुँदा मोग्नीले गरेको गोलमा कामोरोसले घानालाई स्तब्ध पारेको हो ।

समूह ‘सी’को अर्कोे खेलमा मोरक्को र गाबोनले २–२ को बराबरी खेले ।

समूह ‘बी’ बाट भने सेनेगल समूह विजेता र गिनी समूह उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरे । 

मंगलबार सम्पन्न खेलमा जिम्वाब्वेसँग २-१ ले पराजित भए पनि मालावीले सेनेगलसँग अंक बाँडेपछि गिनीले नकआउट चरणमा स्थान बनाएको हो ।