अफ्रिका कप अफ नेसन्स

क्यामरुन समूह विजेता, बुर्किना फासो पनि नकआउट चरणमा

याउन्डे । केप भार्डीसँग १-१ बराबरीमा रोकिए पनि आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्सको समूह ‘ए’ को विजेता बनेको छ ।

तीन खेलमा दुई जित र एक बराबरीपछि शीर्ष स्थानको क्यामरुनको सात अंक रह्यो । समूह उपविजेता बुर्किना फासोको समान खेलमा एक जित, एक हार र एक बराबरीको नतिजापछि चार अंक रह्यो । तेस्रो स्थानको पनि समान चार अंक रहे पनि नकआउट चरणमा भने स्थान बनाउन सकेन । चौथो स्थानको इथियोपियाको एक अंक रह्यो ।

समूहका सुरुआती दुई खेल जित्दै क्यामरुन यसअघि नै अफ्रिका कप अफ नेसन्सको नकआउट चरणमा प्रवेश गरिसकेको थियो । तर समूह चरणमा शतप्रतिशत नतिजा निकाल्ने क्यामरुनको लक्ष्यले भने पूर्णता पाएन । 

३९औं मिनेटमा कप्तान भिसेन्ट अवोबकारको गोलमा क्यामरुनले अग्रता लिएको थियो । जारी प्रतियोगितामा अवोबकारको यो पाँचौ गोल हो ।

५३औं मिनेटमा ग्यासी रोर्डीग्युसले केप भार्डीलाई खेलमा फर्काएका थिए ।

समूह ‘ए’ कै अर्को खेलमा बुर्किना फासोलाई १-१ को बराबरीमा रोक्दै इथियोपियाले एक अंकसहित प्रतियोगितामा आफ्नो यात्राको अन्त्य गरेको छ ।