सहिद स्मारक ‘ए’ डिभिजन लिग

जावलाखेलमाथि एनआरटीको सहज जित

काठमाडौं । मिडफिल्डर दर्शन गुरुङको दुई गोलमा न्युरोड टिम (एनआरटी) ले सोमबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नवौ चरणको अन्तिम खेलमा जितसहित एनआरटीले मध्यसिजनको सुखद अन्त्य गरेको छ ।

६९औं मिनेटमा स्टेफिन बिनोङको पासमा दर्शनले गरेको गोलमा एनआरटीले अग्रता लिएको थियो ।

त्यसको दुई मिनेटपछि एनआरटीले अग्रता दोब्बर पार्ने अवसर पनि त्यसको सदुपयोग गर्न सकेन । मिडफिल्डर एरिक विष्टको फ्रिकिकमा सरोज दाहालले गरेको हेडर बाहिरिएको थियो । 

७३औं मिनेटमा बिनोङकै पासमा दर्शनले बललाई पोस्टको दिशा दिँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।

८५औं मिनेटमा मिडफिल्डर रुपबहादुर लामाको फ्रिकिक एनआरटीका गोलकिपर अजित प्रजापतिले रोक्दा जावलाखेलले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।

जावलाखेलमाथिको जितपछि एनआरटी नौ खेलमा १३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । एनआटरीले आठौ चरणमा आर्मीलाई २-० को नतिजा सुम्पिएको थियो ।

नौ खेलको समाप्तीमा आठ अंक बटुलेको जावलाखेल १० औं स्थानमा यथावत छ । पछिल्लो खेलमा जावलाखेल भने एपिएफसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यसअघि १३औं मिनेटमा स्टिेफिन बिनोङले जावलाखेलका गोलकिपर बिट भैसकेको अवस्थमा बक्सबाट गरेको प्रहार फ्रेममा पर्न सकेन ।

लिगअन्तर्गत दशौ चरणका खेलहरु भने माघ २७ गतेबाट सुरु हुनेछ ।