स्पेनिस सुपर कप

रियाललाई स्पेनिस सुपर कपको उपाधि

मड्रिड । रियाल मड्रिडले आइतबार एट्लेटिक बिल्बाओलाई २-० ले हराउदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

प्रशिक्षक कार्लो एन्सेलोट्टी सान्टियागो बर्नाबेउमा फर्किएपछि रियालले जितेको यो पहिलो उपाधि हो ।

३८औं मिनेटमा लुका मोडरिचको गोलमा रियालले अग्रता लियो । ५२औं मिनेटमा बेन्जेमाले पेनाल्टीको सदुपयोग गर्दै रियालको अग्रता दोब्बर पारेका थिए । एट्लेटिकविरुद्ध बेन्जेमाको यो १८औं गोल हो । 

बिहीबार एथ्लेटिको मड्रिडलाई पराजित गर्दै रियालसँगको फाइनल भेट पक्का गरेको एट्लेटिकले आइतबार रियालविरुद्ध भने सम्झनलायक प्रदर्शन गर्न सकेन । 

८७औं मिनेटमा इडर मिलिटावो रातो कार्डको दर्शन गदै मैदानबाट बाहिरिएपछि रियालले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । खेल सकिन एक मिनेट बाँकी रहँदा एट्लेटिकका राउल गार्सियाले पेनाल्टीको अवसर गुमाए । 

पहिलो हाफमै रियालले सहज अग्रताको अवसर पाए पनि बेन्जेमा, टोनी क्रुज र मोडरिचले त्यसको सदुपयोग गर्न सकेनन् ।

रियालले बिहीबार कोपा डेल रे मा इल्चीको सामना गर्दैछ भने एट्लेटिकले सोही दिन बार्सिलोनाविरुद्ध खेल्दैछ ।